इन्धन वितरण नगर्नुको कारणसहित उपस्थित हुन आयोगको पत्र

इन्धन वितरण नगर्नुको कारणसहित उपस्थित हुन आयोगको पत्र

काठमाडौँ, ६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र काटेको छ ।

आयोगले आज आपूर्ति सचिव विष्णुप्रसाद लम्साल र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पत्र काटेर उपस्थित हुन आग्रह गरेको हो ।

आयोगका अनुसार निगमको थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलाई पनि उपस्थित हुन भनिएको छ । निगमको मुलुकभरका भण्डारण स्थलमा दुई करोड २० लाख लिटरभन्दा बढी इन्धन मौज्दात रहे पनि उपभोक्तालाई वितरण गरेको छैन ।

पर्याप्त मौज्दात रहे पनि किन इन्धन वितरण नभएको हो, भण्डारण मात्रै गरिराख्नुको कारण के हो भन्दै बुधबार बिहान उपस्थित हुन पत्र काटिएको आयोगले जनाएको छ । पछिल्लो दिनमा रक्सौल नाकाबाहेक अन्य नाकाबाट पर्याप्त मात्रामा इन्धन भित्रिए पनि निगमले इन्धन वितरण गरेको छैन ।

तोकिएका केही पेट्रोल पम्पलाई मात्रै सीमित परिणाममा इन्धन दिएको छ । पर्याप्त मौज्दात रहँदा उपभोक्ताले राहत महसुस गर्ने गरी इन्धन वितरण हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै किन त्यस्तो गरिएको हो भन्ने जवाफ दिन बोलाइएको आयोगले जनाएको छ ।

आयोगले आवश्यक कागजातसहित उपस्थित हुन तीनै जनालाई निर्देशन दिएको हो ।

तपाइँको प्रतिक्रिया ।