श्याम, राजु वा फेरि न्हुच्छे ?

श्याम, राजु वा फेरि न्हुच्छे ?

nc-001नेका १३ औँ महाधिवेशन विशेष

कपन अनलाइन/ माघ ३, २०७२
काठमाडौँ क्षेत्र नं. ४ को राजनीति सँधै चर्चाको विषय बन्ने गरेको छ । संत्रिधानसभाको निर्वाचनमा होस् वा नेका अधिवेशनको विषयमा गगन थापा निर्वाचित सभासद रहेको यो क्षेत्र चर्चाको शिखरमा रहने गरेको छ । यो क्षेत्रमा गगन थापाले कति विकास गरे वा गगन थापा कार्यकर्ताको दिलमा बस्न सके वा सकेनन् भन्ने विषयमा क्षेत्र नं. ४ मा भन्दा चासो देशभरी रहने गर्दछ । चासो मात्र नभई समिक्षा, आलोचना तथा प्रशंसासमेत क्षेत्र नं. ४ मा भन्दा अन्त बढि हुने गरेको अवस्थामा नेपाली कांग्रेसको १३ औँ महाधिवेशनले पनि यस क्षेत्रलाई बढि चासोको रुपमा लिइएको छ । गगन थापा आफू स्वयं पार्टीमा कुन नेताको पछि लाग्लान् ? कुन पदमा उठ्लान् ? वा कति मत पाउलान् भन्ने विषय पनि चर्चाको विषय हो । यस्ता यावत् चासोको बीच १३ औँ महाधिवेशनमा गगन थापाको क्षेत्रमा सभापति कस्ले जित्ला वा को सर्वसम्मत होला भन्ने विषयको चर्चा घरघरमा हुन थालेको छ । नेपाली कांग्रेसको राजनीतिमा देखाएका बिभिन्न धारहरु र यी धारहरुबीच सर्बाधिक आशा गरिएका गगन थापाको प्रदर्शनलाई लिएर क्षेत्र नं. ४ का नेपाली कांग्रेस समर्थकमात्र नभै अरु दलले सरोकार राखिरहेका छन् ।
गगन थापाको क्षेत्रमा नेकाभित्रका अन्य गुटहरुको अस्तित्व कति रहने तथा गगन थापाको अस्तित्व बाँकी रहने वा नरहने विषयसँगै केही चिनिएका नामहरु क्षेत्रीय सभापतिमा घोषित वा अघोषितरुपमा आफूलाई उम्मेदवारी घोषणा गरेको देखिन्छ ।

IMG_9879

उम्मेदवार कसले घोषण गर्यो भन्दा पनि गगन थापाको हात कसले प्राप्त गर्ने विषय पनि ठूलो रहेको छ यस क्षेत्रमा । इकाईको अधिवेशन हुन करिब १२ दिन बाँकी हुँदा क्षेत्रीय सभापतिमा वर्तमान क्षेत्रीय सचिव श्यामकृष्ण संगतको नाम गगन थापाले रुचाएको व्यक्ति भनेर चर्चा हुन थालेको छ भने वर्तमान क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठको पक्षमा गगन थापा जाने संभावना पनि चर्चाको विषय बनेको छ । संगत तथा श्रेष्ठ दुवैले खुलेर आफू सभापतिको लागि इच्छुक भनिसकेका छन् । क्षेत्रीय सचिव श्यामकृष्ण संगत र सभापति न्हुच्छेनरायण श्रेष्ठको सम्बन्ध पनि बिग्रिएको समाचार श्रोतहरुको दावी छ । उनीहरुबीच पछिल्ला समय फोनमा कुरा हुने नगरेको तथा भेटघाटमा पनि खासै बोलचाल हुँदैन एक क्षेत्रीय सदस्यले कपन अनलाइनलाई बताए । क्षेत्रीय कमिटि पनि यी दुईबीच बिभाजन भएको देखिन्छ । क्षेत्रीय उपसभापति केशव ढकाललगायत कतिपय सदस्यहरु खुलेर श्यामकृष्ण संगतको पक्षमा बोलेर हिँडेका छन् । क्षेत्रीय कमिटिका केही सदस्य सभापति श्रेष्ठका पक्षमा खुलेर लागेका छन् । यो अबस्थामा को कस्का पक्षमा खुलेर लाग्योभन्दा पनि बुनपाका १४ वटा र कामनपाका ४ वडाबाट बुथ कमिटिमा जितेर को को आउनेछन् भन्ने कुरा प्राथमिकताको विषय भएकाले बुथमा उम्मेदवारी दिनेहरु आफ्ना मान्छे पार्न सम्भावित क्षेत्रीय सभापतिको प्रत्यासीहरु कार्यकर्ताको घरघरमा पुग्न थालेका छन् ।

DSC_0567
१३ औँ महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमा राजु श्रेष्ठको उम्मेदवारीको सम्भावना रहेको छ । श्रेष्ठले आधिकारिक उम्मेदवारीको कुरा नगरे पनि अनौपचारिक भेटहरुमा आफू सभापतिको उम्मेदवार भएको बताएका छन् । १२ औँ महाधिवेशनमा थोरै मतले मात्र पराजित श्रेष्ठलाई नेका वरिष्ठ नेता शेरबहादुर देउवाको नजिकका मानिसको रुपमा चिनिन्छ भने श्रेष्ठ महामन्त्रि प्रकाशमान सिंहको निकट पनि मानिने भएकाले यस अधिवेशनको उनको प्रदर्शन थोरै मात्र कसरत गरे पनि जीतको नजिक रहने विश्लेषण गर्नेहरु भेटिन्छन् । विशेष गरेर बुनपामा समेटिएका वडाहरुमध्ये तत्कालिन कपन गाविसमा रहेका ५ वडाहरुमा उनले कसरत गरे उनी जीतको नजिक पुग्ने धेरैको आंकलन रहने गरेको छ । यी पाँच वडाको विगत हेर्ने हो भने गगन थापाका मानिसहरुले जित्ने वडाको रुपमा चिनिन्छ । त्यसैगरी यदि गगन थापाको उम्मेदवारको रुपमा वर्तमान क्षेत्रीय सभापति न्हुच्छे नारायण श्रेष्ठ नउठ्ने हो भने तत्कालिन चुनिखेल गाविसमा समेटिएको बुनपाको ३ वटा वडाहरुमा पनि राजु श्रेष्ठ हावी हुने बताइन्छ । राजु श्रेष्ठको तत्कालिन चपली भद्रकाली गाविस समेटिएको बुनपाको ३ वटा वडामा पकड रहेको बताइन्छ भने तत्कालिन महांकाल गाविसमा समेटिएको ३ वटा वडाहरुमा पनि उनका विश्वासिला व्यक्तिहरु बुथमा आउने आंकलन गरिएको छ ।

IMG_9857
सभासद गगन थापाको महानगरपालिकाअन्तर्गतका ४ वटा वडाहरुमध्ये ७,८ र ३३ मा मजबुत मानिन्छ भने वडा नं. १ मा केही कमजोर मानिन्छ । तथापि बुथमा सर्वसम्मत भन्दा निर्वाचन हुने सम्भावना बढि देखिएकोले आंकलन गरिएका कतिपय आंकडा निर्वाचनपछि नहुन सक्ने संभावना पनि छ । व्यक्तिगतरुपमा क्षेत्रीय सभापतिको रुपमा न्हुच्छेनारायण श्रेष्ठले महत्वपूर्ण काम गर्न नसक्नु, सांगठनिक असक्षमता देखाउनुले गगन थापाले श्रेष्ठलाई विश्वास गरेको खण्डमा राजु श्रेष्ठको बिजय सहज हुने अनुमान गर्नेहरु पनि धेरै छन् । गगन थापाले श्यामकृष्ण संगतलाई विश्वास गरेर सभापतिमा उठाए भने न्हुच्छेनारायणले असहयोग गर्ने सम्भावना धेरैले मुख फोरेर भन्न थालेको अवस्थामा सांगठनिक क्षमतासमेत देखाएका सचिव श्यामकृष्ण संगतको विजयलाई सुनिश्चित पार्न स्वयम् गगन थापाको महत्वपूर्ण रोल हुने एक क्षेत्रीय सदस्यले बताए । बेलाबेलामा गगन थापाको बिरोधी धारको रुपमा काठमाडौंमा परिचित महामन्त्रि प्रकाशमान सिंहसँग नजिकिन खोजेको आरोपसमेत लाग्ने गरेका न्हुच्छेनारायण श्रेष्ठको भूमिका गगन थापाको भविष्यसँग गाँसिएको मानिन्छ ।

तपाइँको प्रतिक्रिया ।