निकुञ्ज सुरक्षामा सेनाका तालिमप्राप्त कुकुर

निकुञ्ज सुरक्षामा सेनाका तालिमप्राप्त कुकुर

रत्ननगर (चितवन), ३० पुस । चितवन निकुञ्जको सुरक्षार्थ नेपाली सेनाले तालिम प्राप्त कुकुर परिचालन गर्न थालेको छ ।

निकुञ्जभित्रै नेपाली सेनाले परिचालन गर्नेगरी चारवटा कुकुरको प्रयोग गर्न थालिएको चितवन निकुञ्जले जनाएको छ । यसअघि आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीबाट मगाएर कुकुर परिचालन गर्ने गरिएको थियो । विभिन्न तीनपटकसम्म निकुञ्जमा शून्य चोरी–सिकार वर्ष बनाएको र गएको ६०० दिनदेखि यहाँ कुनै पनि वन्यजन्तु चोरी–सिकारीबाट नमारिएकाले संरक्षणकर्मी उत्साहित छन् ।

यो उपलब्धिलाई निरन्तरता दिनका लागि चुनौती थपिँदै गएकाले आधुनिक प्रविधिसँगै तालिम प्राप्त कुकुरको परिचालन गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार संवेदनशील क्षेत्रमा कुकुरको परिचालन गरेर अनुसन्धान तथा अनुगमन गर्ने गरेको जानकारी दिनुभयो । नेपाली सेनाले यो सँगै संरक्षणमा विशेष फोर्स नै परिचालन गर्दै आएको छ । आधुनिक प्रविधिबाट निकुञ्जको सुरक्षा गरिरहेको चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको श्रीजङ्ग गणका गणपति सञ्जय देउजाले जानकारी दिनुभयो । अहिले कुकुरसँगै सुरक्षार्थ खटिएका नेपाली सेना कहाँ गए र के गर्दै छन् भनेर हेर्न सकिने प्रविधि रियलटाइम गस्ती तथा ¥यापिड रेस्पोन्स टिमसमेत परिचालन गरिएको निकुञ्जले जनाएको छ ।

यस्तै, ड्रोनको प्रयोगबाट समेत निकुञ्जको गस्ती गर्ने गरिएको गणपति देउजाले जानकारी दिनुभयो । चितवन निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा ६०५ वटा रहेका छन् । यस्तै, पाटेबाघ १२५ वटा रहेको निकुञ्जले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।