काँग्रेस कार्यालयमा अनशन नै अनशन

काँग्रेस कार्यालयमा अनशन नै अनशन

काठमाडौँ, २१ पुस । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आउन ५९ दिन बाँकी रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न माग राखी अनशन बस्नेको सङ्ख्या बढेको छ ।

काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ १२ दिनदेखि आमरण अनशन बस्नुभएको छ । उहाँ डोल्पामा पार्टीको सङ्गठन कमजोर भएको र नयाँ सदस्यता थप गरेकामा पार्टीले सदर नगरेको भन्दै अनशन बस्नुभएको हो ।

यसैगरी काँग्रेसका सोलुखुम्बुका केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान र नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै १० दिनदेखि रिले अनशन बस्नुभएको छ ।

केसीले पार्टी सभापतिले पार्टीको विधान विपरीत आफ्ना भाइभतिजा, नातागोता र अरु पार्टीका व्यक्तिलाई क्रियाशील बाँडेको आरोप लगाउनुभएको छ ।

रौतहटका केन्द्रीय सदस्य मो अफ्ताफ आलमले रौतहट पार्टी सभापति कृष्ण यादवले पार्टीको विधानको पालना नगरी क्रियाशील बाँडेको भन्दै नौ दिनदेखि रिले अनशन थाल्नुभएको छ । छ निर्वाचन क्षेत्र रहेको रौतहटमा चार निर्वाचन क्षेत्रका क्षेत्रीय सभातिलाई जानकारी नगराई क्रियाशील बाँडेको उहाँले आरोप लगाउनुभयो ।

क्रियाशील सदस्यलाई मान्यता नदिनुपर्ने अडानका साथ रिले अनशन थालेको केही दिनपछि सोलुखुम्बु र रौतहटका पार्टी सभापतिले आफूले केन्द्रलाई बुझाएको सदस्यलाई नै आधिकारिता दिनुपर्ने भन्दै पाँच दिनअघिदेखि रिले अनशन थाल्नुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।