प्रमले चाँडै भारत भ्रमण गर्ने
काठमाडौँ, १७ पुस । लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिले बाँधका कारण बाँकेको राप्ती नदी किनारका करिब २५ हजार विस्थापित हुँदै आएकाले कूटनीतिक माध्यमबाट समस्या समाधनका लागि पहल गर्न सरकारसँग ध्यानाकर्षण गराएको छ ।
समितिका प्रतिनिधिले सिंहदरबारस्थित कार्यालयमा उपप्रधानमन्त्री कमल थापालाई भेटी बाँधले गर्दा दुई हजार ४०० बिघा जमिन पूर्ण नष्ट भएको तथा चार हजार बिघा उत्पादन अयोग्य बनेको एवं ६० हजार जनसङ्ख्या डुबानमा पर्नाका साथै १५ जनाको मृत्यु र पाँच जना बेपत्ता भएको तथा कृषितर्फ रु २१ करोड, पशुपक्षीतर्फ रु आठ करोड र सिँचाइतर्फ रु दुई करोड क्षति भएको जानकारी गराए ।
त्यसैगरी दुधुवा निकुञ्ज वन्यजन्तुपीडित सङ्घर्ष समितिले भारतीय निकुञ्जका कारण वन्यजन्तुको खतरा बढेको भन्दै कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न उहाँलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझेपछि उपप्रधानमन्त्री थापाले समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्रीको चाँडै भारत भ्रमण गर्ने र त्यसबेला सो विषयमा छलफलका लागि उचित वातावरण मिलाइने जानकारी पनि गराउनुभयो । रासस