राष्ट्रियता र स्वाधिनतामा कुनै सम्झौता हुँदैन – सभापति कोइराला

१७ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियता र स्वाधीनताका विषयमा कुनै सम्झौता हुन सक्दैन भन्नुभएको छ ।

1451644326457_LS-Parbat-NC-CM (1)
पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार र फलेवास जोड्ने मोदी नदीमा निर्माण हुन लागेको मुडिकुवा–बड्गाउँ झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा आज बोल्दै कोइरालाले सहमतिका नाममा स्वाधीनता र राष्ट्रियताका विषयमा सम्झौता नहुने बताउनुभयो ।

सबै दल एकजुट भई समस्याको समाधान गर्नुको विकल्प नभएको बताउँदै सभापति कोइरालाले सबै दल जिम्मेवार बन्नुपर्ने धारणा राख्नु भयो ।
नेपालको नयाँ संविधानले सबैका अधिकार सुरक्षित गरेको बताउँदै उहाँले सम्बोधन हुन नसकेका विषयमा संविधान संशोधनबाट सहमति खोज्न सकिने उल्लेख गर्नु भयो ।
सभापति कोइरालाले नेपालमा आर्थिक विकासका प्रचुर सम्भावना भए पनि अहिलेसम्म आन्दोलनमै बितेर त्यसतर्फ ध्यान दिन नसकेको बताउँदै आर्थिक विकासका लागि अब समय खेर फाल्न हुँदैन भन्नुभयो ।

कार्यक्रममा सभासद् अर्जुनप्रसाद जोशी, कल्पना चापागाईं, काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीलगायतले बोल्नुभएको थियो ।

उक्त पुल निर्माणपश्चात् पर्वत जिल्लाको क्षेत्र नं २ अन्तर्गतका १ दर्जनभन्दा बढी र छिमेकी जिल्ला बागलुङका झन्डै एक दर्जन गाविसको सदरमुकाम कुश्मा बजारसँग प्रत्यक्ष सम्बन्ध हुने भएको छ ।
पुल नहुँदा अहिले एक घन्टाको उकालो हिँड्नुपर्ने अवस्था रहेकामा सर्वसाधारण पाँच मिनेटमै कुश्मा बजार आउन सक्ने भएका छन् । रासस

 



तपाइँको प्रतिक्रिया ।