डेढ सय परिवारको बास सात वर्षदेखि जङ्गलमै

४ पुस । कञ्चनपुरको दोदा नदीले विस्थापित गरेका शङ्करपुर गाविसका १५० बढी परिवारको पुनःस्थापना हुन नसक्दा सात वर्षदेखि जङ्गलमै आश्रय लिइरहेका छन् ।

दोदा नदीमा २०६५ सालमा आएको बाढीले घरखेत बगाएपछि शङ्करपुरका १६३ परिवार जङ्गलमा आश्रय लिन बाध्य भएका हुन् । स्थानीयका अनुसार दोदा नदीले ०६५ सालमा शङ्करपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो ।

विस्थापितको हालसम्म पनि पुनःस्थापना नहुँदा जङ्गलमै जीवन व्यतित गर्नुपरेको बाढीपीडित कृष्णलाल डगौराले दुखेसो पोख्नुभयो ।

“नदी नियन्त्रणका लागि सरकार लगानी गर्दैछ ।” उहाँले भन्नुभयो– “हाम्रो सात वर्षदेखि कुनै वास्ता छैन ।” स्थानीय ठाउँमा बस्ती नै नरहे तटबन्ध बनाएर जग्गा मात्रै जोगाउनुको कुनै अर्थ नरहेको उहाँको भनाइ छ । जङ्गलमै बस्नु परेकाले उनीहरुको दैनिक जीवनका साथै सामाजिक, सांस्कृतिक जीवनमा समेत प्रभाव परेको छ । समयमै सरकारले दोदा नदी नियन्त्रणमा ध्यान नदिँदा आफूहरुको घरखेत बगेको उनीहरुको भनाइ छ । दोदा नदीले धार परिवर्तन गर्दा कृषकको २५० बिगाहा खेत नदीले बगाइसकेको छ ।

त्यसैगरी गाउँमा अरुको खेतमा काम गरेर परिवार पाल्दै आएका विश्राम रानाले आफूसित भएको १६ कट्ठा खेत नै बगाएपछि सुकुम्बासी भएको बताउनुभयो ।

जनताको तटबन्ध कार्यालयले दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ । करिब रु १४ करोडको लागतमा तटबन्ध बनाए पनि वर्षात्मा नदी कटान नरोकिएको समेत स्थानीयवासीको भनाइ छ । दोदाले कञ्चनपुरका–८ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनवस्ती तथा परासन क्षेत्रमा समेत आंशिक क्षति पु¥याउँदै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।