काँग्रेस क्रियाशील सदस्यता छानबिनमाथि चर्को बहस

काँग्रेस क्रियाशील सदस्यता छानबिनमाथि चर्को बहस

काठमाडौँ, २ पुस । पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका विवादमा चर्को बहस भएको छ ।

बुधबारदेखि पार्टीको जारी बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि भएको छलफलमा सदस्यता वितरण पारदर्शी नभएको नेताले धारणा राखेका छन् ।

अधिकांश केन्द्रीय सदस्यले उक्त प्रतिवेदनअनुरुप क्रियाशील सदस्यता वितरण मापदण्डाविपरीत रहेको भन्दै पुनरावलोकन गर्न माग गरेका छन् भने केही सदस्यले प्रतिवेदनलाई जस्ताको जस्तै पारित गरिनुपर्नेमा जोड दिएका छन् ।

आजको बैठकमा प्रतिवेदनलाई समर्थन गर्नेमा गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, मनमोहन भट्टराई, मीन विश्वकर्मा, डिना उपाध्याय, महेन्द्र यादव, रमेश रिजाल रहनुभएको छ, भने दिलेन्द्रप्रसाद बडू, गुरुराज घिमिरे, प्रदीप पौडेल, कमला पन्त, अफ्ताव आलम, फरमूल्लाह मंसुर, र रत्ना शेरचनलगायतले प्रतिवेदनलाई पुनरावलोकन गरिनुपर्ने माग गर्नुभएको छ ।

पार्टीको विधानअनुसार क्रियाशील सदस्यता वितरण सम्बन्धमा गाउँ र नगरले प्रस्ताव गरी क्षेत्रमा पठाउने र क्षेत्रीय समितिले जिल्लालाई सिफारिस गर्ने र जिल्लाले अनुमोदन गरी केन्द्रमा पठाउने प्रावधान छ ।

तर केही नेताहरुले आफू अनुकूल पार्टीको विधान संरचनाभन्दा बाहिर गएर सदस्यता बढाएको आरोप लागेको छ ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको विधान र प्रक्रिया विपरित जिल्लागत रुपमा सदस्यता वितरणमा पारदर्शी नदेखिएकाले उक्त विषयमा अध्ययन र पुनरावलोकन गर्न नेताले माग गरेको बताउनुभयो ।

प्रतिवेदनअनुसार पुराना तीन लाख १६ हजार ८६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएका छन् । त्यस्तै पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छन् । जम्मा चार लाख ७० हजार पुगेका छन् ।
पार्टी सभापति सुशील कोइरालाको अध्यक्षतामा बुधबारदेखि जारी बैठकमा आज गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा रामशरण महत, बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मन्सुर, दिलेन्द्रप्रसाद बडू, मनमोहन भट्टराई, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय डिना, मो आफ्ताव आलम, कमला पन्त, अजयकुमार चौरसिया, महेन्द्र यादव, रत्न शेरचन, शङ्कर भण्डारी, मीन विश्वकर्मा, गगनकुमार थापा, राजनप्रसाद पन्त, रामचन्द्र तिवारी, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे र प्रदीप पौडेलले आआफ्नो धारणा व्यक्त गर्नुभएको नेपाली काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

तपाइँको प्रतिक्रिया ।