गौमाताको संरक्षणमा जोड

काठमाडौँ, २६ मङ्सिर । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले गाईलाई अन्यत्रबाट ल्याई जथाभाबी रुपमा छाड्ने क्रम बढेकाले सो काम रोकी उचित संरक्षण गरिनुपर्ने बताउनुभएको छ ।

kathmandu-pashupatinath-temple-cows-everywhere

मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उहाँले कोषले पनि जथाभाबी छाडिएका गाईको उचित रेखदेखका लागि पहल गरिरहेको बताउँदै बेवारिसे छाडिएका गाईको बासस्थानका लागि बढी जमिनको आवश्यक परेकाले त्यसको खोजी भइरहेको जानकारी दिनुभयो ।

बृहत् शान्तिधाम नेपालका पीठाधीश चतुभुर्जचार्य चूडामणिले आधुनिक विलासितामा रमेर मानिसले जनावरलाई निकै तल्लोस्तरको व्यवहार गर्न थालेको बताउँदै मानिसले आफूलाई चाहिने बेलासम्म गाईलाई राख्ने र उत्पादन दिन छाडेपछि बेवारिसे छाड्ने कार्य बन्द गर्नुपर्ने बताउनुभयो ।

अभियानका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालले गाईलाई राष्ट्रिय जनावर मानेको र हिन्दूधर्ममा आमासरी मान्यता पाएकाले गाईलाई सडकबाट गोठमा ल्याई उचित स्याहार गरिाख्नुपर्नेमा राज्यको ध्यान जानुपर्ने बताउनुभयो ।

सडक विभागका काठमाडौँ जिल्ला प्रमुख धमेन्द्र झा र समाजसेवी सुवर्ण वैद्यले गाईको संरक्षण गर्ने भनी समय समयमा विभिन्न संस्था आए पनि निरन्तरता भने नदिएको बताउनुभयो । अभियानले हाल १५० गाईलाई संरक्षण गरेको छ । हाल देशका विभिन्न स्थानमा पाँच हजार गाई बेवारिसे भएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।