अति भो कान्तिपुरको पीत पत्रकारीता
कान्तिपुर दैनिकको यहि मंसिर १५ गते “भूमिका भुल्दै अख्तियार” शिर्षकमा प्रकाशित सम्पादकिय प्रति अख्तियार अनुसन्धान आयोगले कडा टिप्पणी गर्दै प्रेश विज्ञप्ती जारी गरेको छ । लामो समय देखि नेपालको पत्रकारीतामा उल्लेख्य भुमिका रहेको स्वतन्त्र समाचार संस्था माथि अख्तियारको टिप्पणीले अख्तियारले प्रेश माथी हेर्ने दृष्टिकोण समेत छताछुल्ल भएको छ । २०४६ सालको राजनितिक परिवर्तन पश्चात नेपालका हरेक आन्दोलन तथा परिवर्तनमा कान्तिपुर दैनिकको उल्लेख्य भुमिका रहदै आएको छ । स्मरणीय रहोस् कान्तिपुर दैनिक मुलकभरिको पत्र पत्रिकाहरु मध्ये सबैभन्दा बढि पाठक तथा सबै भन्दा धेरै ग्राहक संख्या भएको पत्रिका हो । यद्यपी मुलुकमा हाल अनलाईन मिडियाहरु फस्टाए संगै यस पत्रिकाको लोकप्रियतामा भने दिनानु दिन ह्रास आएको जानकारहरु बताउँछन् ।
हेर्नूहोस् आयोगको प्रेश विज्ञप्ती पुर्णः पाठ ।
कान्तिपुर दैनिकको यहि मंसिर १५ गते वर्ष २३ अङ्क २८० मा “भूमिका भुल्दै अख्तियार” शिर्षकमा प्रकाशित सम्पादकिय प्रति यस आयोगको गंभिर ध्यानाकर्षण भएको छ । भूकम्प पीडितका लागि राज्यका विभिन्न अङ्ग र निकायले गरेको राहत व्यवस्थापनका हकमा आयोगले दुई दिन अघि मात्र सार्वजनिक गरेको प्रतिवेदनलाई केन्द्रमा राखेर कान्तिपुरले प्रकाशन गरेको सो सम्पादकीय भ्रामक, दुराशयपूर्ण र एउटा सम्वैधानिक निकायको प्रतिष्ठा अवमुल्यन गर्ने रोगी मनोविज्ञानबाट अभिप्रेरित रहेको आयोगको ठम्याई छ ।
वस्तुतः राहत व्यवस्थापनका सम्वन्धमा आयोगले सार्वजनिक गरेको प्रतिवेदन न त कान्तिपुरले आफ्नो सम्पादकीय मार्फत आरोपित गरे जस्तो हचुवा दस्तावेज हो न त स्थितिको सपाट चित्रण मात्रै । बरु व्यापक जनअपेक्षा र शिकायत पछि आयोगले मेहनतपूर्वक तयार गरेको यो एउटा त्यस्तो दस्तावेज हो जस्ले भूकम्प राहत व्यवस्थापनमा भएका तमाम त्रुटी, कमजोरी र अव्यवस्थाका केस्रा(केस्रा औल्याएको छ, पीडितका नाममा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट उपलव्ध सहायताको संश्लेषण गरेको छ र भविष्यमा समेत प्राकृतिक विपदाका वीच राहत वितरण तथा व्यवस्थापनको प्रभावकारिताका लागि उपयोगी सुझावहरु सुझाएको छ । यस पृष्ठभूमिमा राज्यका निम्ति उपयोगी र भूकम्प पीडित सर्वसाधारणका पक्षमा आयोगले प्रतिवेदन सार्वजनिक गरिरहँदा कान्तिपुरलाई टाउको दुखाई किन ? जहाँसम्म राहत वितरण तथा व्यवस्थापनका सिलसिलामा आयोगले प्रतिवेदन मार्फत औल्याएका र देखेका अनियमितताको प्रश्न छ आयोगले यस अघि देखि नै ति विषयलाई अनुसन्धान, छानविन र कार्वाहीको दायरामा ल्याईसकैको तथ्य आम जनसमुदायलाई जानकारी गराउदछौ ।
यद्यपि कान्तिपुर दैनिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आयोगका माननीय प्रमुख आयुक्तका विरुद्ध झुठा, काल्पनिक र मनोगत निश्कर्षमा आधारित समाचार र विचारका आधारमा सिलसिलेवार धावा वोल्दै आएको छ ।
प्रमुख आयुक्तको नियुक्ति प्रसङ्गमा समेत यस छापाले निरन्तर ६ साता सम्म काल्पनिक समाचारका वलमा उहाँ विरुद्धको व्यक्तिगत आग्रह अभिव्यक्त गरेको तथ्य आम जनमानसमा विदितै छ । अख्तियारको संवेदनसिलता, मर्यादा, अनुसन्धान एवं छानविन प्रकृयाको गंभिरता तथा यसका पदाधिकारिहरुको प्रतिष्ठाको सर्वथा मानमर्दन गर्दै आयोग र आयोगको शिर्ष नेतृत्व विरुद्ध कान्तिपुरको यो नियोजित भ्रमको खेतीको यथोचित मुल्यांकन गरिदिनु हुन आयोग आम जनसमुदाय समक्ष अपिल समेत गर्दछ ।
भ्रामक र आग्रहपुर्ण सम्पादकीय प्रकाशनको ठिक एक दिन अघि अर्थात यहि मंसीर १४ गते कान्तिपुरले आफ्नो पृष्ठ २ मा ‘अख्तियारद्दारा खड्काको बचाउ” शिर्षकमा प्रकाशित गरेको समाचार झूठको अर्को पुलिन्दा हो । गत आइतवारमात्र कलोवजारी विरुद्ध आयोगले सम्वन्धित निकायका पदाधिकारी तथा सञ्चारकर्मीहरु संग आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा आधारित सो समाचारमा आयोगका प्रवक्ताले वोल्दै नवोलेको विषयलाई कान्तिपुरले समुल्लेखन गरेको छ । सो कार्यक्रमको अडियो तथा भिडियो आयोग संग अध्यावधी सुरक्षित छ । आयोग कान्तिपुरलाई आफ्नो सो समाचारको पुष्ट्याईका लागि समेत चुनौती दिन चाहन्छ ।
स्वभावतस् मर्या्दित र व्यवसायिक पत्रकारिता प्रति आयोगको उच्च सम्मान रहि आएको छ । पत्रकारिता क्षेत्र संगको सहकार्यलाई आयोगले सर्वथा उच्च प्राथमिकता दिदै आएको छ । तर पीत पत्रकारिता आयोगका निम्ति कदाचित ग्राह्य छैन र आयोग कान्तिपुर प्रवृतिको पीत पत्रकारिताको सर्वथा भर्त्सना गर्दछ । आयोग विरुद्ध झुठ र भ्रममा आधारित कान्तिपुरको सिलसिलेवार शव्दाक्रमण के व्यवसायिक पत्रकारिता हो ? के कलम र छापा मञ्चको दम्भका आधारमा असत्यलाई वलात सत्यापित गर्ने प्रयत्न आफैमा अपराध होईन ? कान्तिपुरका यि सवै हर्कतलाई आयोगले सदा आफ्नो स्मृतिमा राखेको छ ।
अख्तियारको कार्या्धिकार, सम्वैधानिक एवं कानूनी दायित्व र जनता प्रतिको जिम्मेवारी वारे आयोग नेतृत्व जानकार छ । यस सन्दर्भमा कान्तिपुरको आग्रहपूर्ण उपदेशले तात्विक अर्थ राख्दैन । वरु कान्तिपुरले आगामी दिनमा आफ्नो व्यवसायिक मर्यादा र आचार प्रति चिन्तित र सचेत रहनु वान्छनिय हुनेछ ।
कन्तिपुरको सिलसिलेवार शव्दाक्रमण विरुद्धको आयोगको यो अन्तिम खण्डन हो । दैनिक र नियोजित ढंगवाट यस छापामाध्यमले प्रकाशमा ल्याउने काल्पनिक समाचार र विचारको निरन्तर खण्डन(मण्डनमा समय खर्चन आयोगबाट संभव छैन । नेपाली पत्रकारिता फाँटमा कान्तिपुर प्रवृत्ति हावी भएको खण्डमा पीत पत्रकारिताले उचाई लिनेछ भन्ने मात्र आयोगको चिन्ता हो । कान्तिपुर वाहेकका अन्य छापा तथा विध्युतिय संचारमाध्यमहरुले आयोग प्रति देखाउदै आएको सुभेच्छा र रचनात्मक सहयोगका निम्ति आयोग आभार व्यक्त गर्दछ ।
कान्तिपुरमा प्रकाशित भ्रामक र दुराशयपूर्ण उक्त सम्पादकीय प्रति आयोगको कडा आपत्ति रहेको छ र कान्तिपुरको पीत पत्रकारिताको आयोग भत्सर्ना गर्दछ ।