कपनका ५२५ जनामध्ये ८ प्रतिशतमा मृगौलाको रोग देखियो
कपन अनलाइन/ ०७२ मंसिर १७
कपनमा गरिएको एक निःशुल्क मृगौला परीक्षण कार्यक्रममा धेरै मृगौलाको रोगी भेटिएका छन् । परीक्षण गरिएकाहरुमध्ये ८ प्रतिशतलाई मृगौलाका साना ठूला समस्या देखिएपछि परीक्षणमा सहभागी डा. शक्ति बस्नेतले यो संख्या ठूलो बताए । राजधानीका ५ ठाउँमा गरिएको निःशुल्क परीक्षणमध्ये कपनमा सहभागिको संख्यामा पनि उल्लेख्य रहेको बताउँदै डा. बस्नेतले रोगी पनि धेरै भेटिएको बताए । यसरी समस्या देखिएका रोगीहरुलाई राजधानीकै टिचिङ र बीर अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ भने कार्यक्रममा सहभागि सबैलाई मृगौला रोगबाट बच्नका लागि निःशुल्क परामर्श पनि दिइएको थियो ।
कपनमा स्थानीय स्वास्थयकर्मी प्रदिप भट्टराईको सक्रियतामा नेपाल किड्नी फाउण्डेसनले कपनमा रहेको नवदूर्गा स्वास्थ्य संस्थाको भवनमा आयोजना गरेको निःशुल्क मृगौला परीक्षण कार्यक्रममा ५२५ जनाले स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षण कार्यक्रममा ७५ प्रतिशत स्थानीय गृहणी महिलाहरु सहभागि भएको नवदुर्गा स्वास्थ्य संस्थाका कोषाध्यक्ष राजु थापाले कपन अनलाइनलाई बताए । थापाको अनुसार कपन तथा यस आसपासमा एकदिने स्वास्थ्य परीक्षण कार्यक्रममा यति ठूलो संख्यामा सहभागिहरु आएको यो पहिलो पटक हो । बिदाको दिनसमेत नपरेको बेला पनि धेरैभन्दा धेरै सहभागि हुनु स्वास्थ्यप्रति कपनका जनसामान्य सचेत रहेको बुझ्न सकिन्छ थापाले थपे ।