चार मुक्तक : बाबुराम गौतम

चार मुक्तक : बाबुराम गौतम

कपन अनलाइन
काठमाडौं, असोज १२।

हिजोदेखि दर खुवाउनेको खेलो सकियो
सुरा सन्काएर नाच्नेहरूको मेलो सकियो
महिनौँसम्म आमोदप्रमोद चलेको ठाउँमा,
पैसा फुक्ने नारी मण्डलीको रेलो सकियो ।

दैवले खोस्यो गाँसबास कसरी बाँच्ने होला
आम्मामा ! यो बर्खामास कसरी बाँच्ने होला
एकाएक भोटेकोशीमा उर्लिएको बाढीबाट,
भयो सबै श्री सर्वनाश कसरी बाँच्ने होला ?

बज्छन् गीत बार रेस्टुरेन्टमा सुन्नै नसक्ने गरी
नाच्छन् चेलिहरू अचम्मैसित घोप्टो परी परी
लिएपछि मादक वस्तुले तिजको दरको ठाउँ,
कसरी बाँच्ला हाम्रो संस्कार भनिदेऊ न हरि ।

सत्य कुरा सुनिदिन्छ्यौ त्यसैले त माया लाग्छ
सधैँ मेरो सुर्ता लिन्छ्यौ त्यसैले त माया लाग्छ
यदि कसैले मेरो बदख्वाइँ गर्न खोज्यो भने नि,
उसकै विरुद्ध ठडिन्छ्यौ त्यसैले त माया लाग्छ

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।