आजको विम्व डा.विश्वदीप अधिकारी (कविता)
कपन अनलाइन
काठमाडौं, साउन २३।
नदीहरू निरन्तर वगिरहेछन्
प्रवृत्तिमा अडिएको समय
टक्क अडिएको अडिएकै छ
विहानीको घाममा
आफ्नो छायाँ आफ्नै अगाडि लमतन्न परेझैं
समयले जरा हाल्नुपर्ने हो
निवृत्ति नअपनाई
प्रवत्तिमा मात्र निवृत्त हुने आजको भीड
के फलाउन के रोपिरहेछ
लहलहैमा रोप्नेहरू केही जान्दैनन्
पिण्डमा तील छर्केझैं
ज्वानु छर्किई वीरेनून हालेको लड्डु
हलुवाइकहाँ खोज्दैछन् मान्छे
नुन हालेको खीर र
चिनी हालेको खिचडी खान
किननहुने बहस चलाएका छन्
आजका मान्छेहरूले
आफूले रोपेका वीउका जरा कस्ता हुँदैछन्
रत्तिभर मतलव नराख्ने आजको लय भइरहेछ
प्रलय रुचाउने भीडको
जग नभएको घर
जरा नभएको रुख
सलाईको डिब्वाको पर्खाल
आजको एउटा विम्व हो
सबैलाई बिर्सेर निर्जिव बाँच्दा
भोलिका मान्छे
कुन जरामा टेकेर पलाउने हुन्
मल, विप र आवरणको
सम्मोहनले निलेको यो बेला
प्रवृत्तिमा अडिएको समय
टक्क छ
धमिरा परेको जराको विम्वमा
वर्तमानलाई तासको घरमा देखेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
