चार मुक्तक : रामप्रसाद पुरी
कपन अनलाइन
काठमाडौं, साउन २१।
बेग्लै दृष्टि मानिस व्यतिरेक नभएपनि
बौद्धिक बिल्ला पाइन्छ विवेक नभएपनि
राम्रै काम गरे नि गाली पाउने इलममा,
ज्ञान र सीप बाँडिन्छ निमेक नभएपनि ।
अर्थको कुरा अनर्थतर्फ यो कसैले नबुझोस्
यथार्थलाई व्यर्थमा लगेर यी शिर नझुकोस्
वचनबाचा प्रकृति भाका र सिमाना नसार्नू,
असारे पर्म असारमै तिरेस् मंसिर नपुगोस् ।
एकले अर्को नमान्नु मानवीयताको विकार हुनुपर्छ
अन्यायको विरुद्ध आफ्नो ज्यानै दिने हुतीकार हुनुपर्छ
मानव मानव बिचमा अहम् अनि मपाईंत्व पन दर्शाउँदा,
एकको उन्नतिका खातिरमा अर्काले सिकार हुनुपर्छ ।
उचित मलजल राम्रो स्याहार पाएमा विरुवा हल्किने छ
संसारमा नाम कमाएका वीर गोर्खालीको सान टल्किने छ
उद्देश्य र लक्ष्य राखेर निरन्तर कर्म क्षेत्रमा लाग्यौं भने,
विश्व मानचित्रमा कुनै खेलमा नेपालको झण्डा झल्किने छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
