क्यालेण्डर : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाडौं ,साउन ९।
१. यो क्यालेण्डर मस्किँदै छ मसँगै हेर्दै अनेकौँ पल
के भन्दैछ भनेर जाग्दछ सधैँ मस्तिष्कमा खुल्दुल
के गर्दैछ भनी चियाउँछ उही मैले नहेरे पनि
गाली गर्दछ मन्मनै फगत त्यै मैले नटेरे पनि
२. जाँदैछन् दिन रात वर्ष महिना सन्देश बाँड््ने उही
तैँले गर्नुछ काम यो भनि भनी, आदेश बाँड्ने उही
फेरिन्छन् ऋतु जानकार पनि त्यै मैले नजाने पनि
माग्दै जान्छ विदा कता अलप भै मैले नमाने पनि
३. आएँ आउन ता अगाडि म कयौँ फालेर क्यालेण्डर
सक्थेँ गर्न बसी अगाडि उसकै के के कुरा आखिर
ती गर्दै नगरी पुरा जब नयाँ बोकेर ल्याएँ घर
हेर्ने हिम्मत आउँदैन ठडिई कैल्यै पुरानोतिर
४. जे जैले जुन काम गर्नु छ अहो गर्दै नगर्ने छली
दौडन्छिन् सब ती सधैँ नयनमा देख्ने गरी झल्झली
कैल्यै लक्ष्य चुनेर त्यो शिखरमा टेक्नै नसक्ने म छु
बाधाका उपहार बाहुबलले छेक्नै नसक्ने म छु
५. ती क्यालेण्डरसाथ लज्जित बनी फाल्दै पुराना जति
चालू वर्ष म रोज्न थाल्छु किनकी, पोल्ल्छन् तिनै भत्भति
बिर्सेका जति कामले चयनको निन्द्रा दिँदैनन् अहो
भन्छन् प्यार थियो रहेन अब त्यो डाँडा कटाए भयो
६. बन्दै चुम्बक तान्न सक्छ पहिले टाढा गए तापनि
चाँडै बैँश हटेर जान्छ यसको जस्तै भए तापनि
बाँकी विश्व रहोस् जता अति छिटै यो फेर्छ आफ्नो जुनी
कान्छो चैत्र लगेर घाट सहजैे फर्कन्छ नौलो बनी
७. मान्छे हो बन काममा दृढ सधैँ भन्दैछ पात्रो सधैँ
नौला पल्लब झैँ प्रफुल्ल मनको बन्दैछ पात्रो सधैँ
मात्रै स्वाँग रचेर राख्नु छ भने के काम फालौँ सब
वा क्यालेण्डरका हिँडे सँगसँगै, होला सधैँ उत्सव ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
