चार मुक्तक : कर्ण दयाल
कपन अनलाइन
काठमाडौं ,साउन २।
आफूले सधैं हाँस्न पाउनु पर्छ अरुले रुनु पर्छ
हरपल समाजका सबैले मेरो पाउमा छुनु पर्छ
मानप्रतिष्ठा सबथोक मलाई मात्र होस सोच्ने,
प्राणी भनेकै सायद दुनयाँमा मान्छे हुनु पर्छ ।
कहिले त दिउसै पनि टहटह जून लाग्न सक्छ
दिनले पनि अँध्यारो के हो स्वाद चाख्न सक्छ
एकछिन मात्रै हो भने त के हुदैन र महाशय,
काठको भाँडोमा पनि दालभात पाक्न सक्छ ।
दूध र पानीलाई छुटयाएर अलग गन्न सकिदैन
सधैं दिएर मात्रै कसैको आफ्नो बन्न सकिदैन
चिप्ला बातहरू सबैले मार्छन तर संगत नगरी,
कसैलाई राम्रो हो वा नराम्रो हो भन्न सकिदैन ।
झन अस्वस्थ प्रतिस्पर्धाको दौड चलेको देखिन्छ
सानालाई उपेक्षा ठूलाको खुट्टा मलेको देखिन्छ
जसले गर्न सक्छ मुखमा रामराम बगलीमा छूरा,
उसैलाई यो समय पनि फापेको फलेको देखिन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
