चार मुक्तक : पुरुषोत्तम फुयाल

चार मुक्तक : पुरुषोत्तम फुयाल

कपन अनलाइन

काठमाडौं असार २१।
जहाँ समस्या आउँछ त्यहाँ उपाय हुनुपर्छ
पटकपटक गल्ती गर्नेलाई सजाय हुनुपर्छ
त्यहाँ न्यायाधीशले नै अन्यायको कर्म गरेमा,
अझै थप अनुसन्धानको निकाय हुनुपर्छ ।

हामी सबैले चाहेको जस्तै संसार हुँदैन
भाग्य र भविष्यको पनि कुनै आकार हुँदैन
आफ्नो कर्मलाई निरंतरता दिँदै जाऊ तिमी,
परिश्रमी हातहरूको कहिल्यै हार हुँदैन ।

तिम्रो मुस्कानले मलाई मोहित बनायो
तिमीसँगको समय साह्रै सीमित बनायो
बिछोडको पीडाले खुबै छट्पटी भयो क्यारे,
आजकल सुन्दैछु तिमीलाई विचलित बनायो ।

म पनि भर्खर–भर्खरै नै मुस्कुराउन सिक्दैछु
सुन्दर बिहानीको किरणसँगै रमाउन सिक्दैछु
असत्यको बाटो हिँड्नु नपरोस् कहिल्यै पनि,
भविष्यका सुनौला दिन दिलमा सजाउन सिक्दैछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।