चार मुक्तक : पशपती राई
कपन अनलाइन
काठमाडौं असार २१।
फूल पनि मुस्कुराउदै छ तिम्रो जवानी देखेर
सुवास छर्दै हावामा तिम्रो चंचले बानी देखेर
जवानी भन्दा पनि झन् जवानीको हेराई राम्रो,
लट्ठियो ऊ नशालेझैं तिम्रो आँखाको नानी देखेर ।
पाखो रेखो जमिन बाँझो नराख्ने जोती खाने समाज यो
पसिनाको फल आफ्नै माटोमा खोजी खाने समाज यो
बाँडीचुँडी खाने चलन थियो अहिले भने शेयर गर्छन् ,
जति फल्छ फलेको सिलौटामै होस् घोटी खाने समाज यो ।
कति चलाएमान हुन्छन् भावहरू शब्दले बताउन सक्दैन
जीउ बुढो होला तर मन सधैं जवान,कसैले गलाउन सक्दैन
रवि नपुग्ने ठाउँमा पुग्छ कवि मनोमानी उड्न देऊ उसलाई,
पिंजडा सुनकै भएपनि पिंजडामा चरी रमाउन सक्दैन ।
चेतनाको हावा खुस्केर हो कि किन हो भुमरीमा परिरहेछौं
प्रविधि प्रयोग गर्दै एक्काइसौं सताब्दीमा पनि भ्रम छरिरहेछौं
हुँदाहुँदा अब त सत्य गलिसक्यो भ्रम नै सत्य लागिसक्यो,
हामी नेपालीहरू गरिब भएर जन्मन्छौ दरिद्र भइ मरिरहेछौं ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
