चार मुक्तक : मन्दा पौडेल
कपन अनलाइन
काठमाडौं असार २१।
कर्मले या धर्मले, खै के ले लेख्छ ललाट पत्तो हुँदैन,
भिखारी बनाउँछ या बनाउँछ सम्राट् पत्तो हुँदैन
ए साथी, बडो अचम्मको छ यो चलखेल नियतिको,
फूललाई मन्दिर पुर्याउँछ या घाट पत्तो हुँदैन ।
जसरी सागर भेट्न नदीले नछोडी रफ्तार बहनुपर्छ
त्यसरी नै हिरा बन्न अङ्गारले चर्को राप, ताप सहनुपर्छ
यो चराचर सृष्टिलाई सन्तुलनमा राख्न चाहने हो भने,
चाहे प्रकृति होस् या मनुष्य आफ्नो मर्यादामा रहनुपर्छ ।
पुजिएर शिरमा राखिएको थियो एकाएक पाउमूनि झर्यो
उसको आफ्नै हर्कतले उसलाई चरित्रहीन साबित गर्यो
नाघेर मर्यादाको लकिर आफ्नो मुकुण्डो उतार्यो जब उसले,
हाय ! विश्वासको पवित्र मन्दिरभित्रै उपासकको श्रद्धा मर्यो ।
चियाएर मेरो चुहिने झुप्रो, गिज्याइरहने हजुरको दरबार भुलेको छैन
एकदिन ऋणले भाका नाग्दा, भताभुङ्ग भएको मेरो घरबार भुलेको छैन
आज अवस्था फेरिँदा हात मिलाउन आउनुभयो, स्वागत छ हजुरलाई,
तर यहाँले हिजो मेरो गर्धनमा तेस्र्याउनुभएको तरबार भुलेको छैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
