दुइटा : रुपक राई ( कविता )

दुइटा : रुपक राई ( कविता )

कपन अनलाइन

काठमाडौं असार २०।

हाम्रो दुइटा बारी छन्
एउटा करेसाबारी
जहाँ हामी अन्नबाली फलाउछौ
अर्गानिक
पुरै अर्गानिक
सागसब्जीका रेसारेसा स्वस्थकर
खाने मान्छे धन्य हुन्छ
नहोला पेट बरु टन्न
तर अन्न साच्चै अन्न हुन्छ !
अर्को पेशाबारी
जहाँ हामी नगदेबाली लगाउछौ
रसायनिक
पुरै रसायनिक
त्यहाको उब्जनी खाएपछी
मान्छे कहिले अस्पतालको खाटमा
उस्तै परे पुग्न पनि सक्छ घाटमा !

हाम्रो दुइटा जिब्रा छन्
एउटाले हामी कालोलाई कालो भन्छौं
उज्यालोलाई उज्यालो भन्छौं
मन्त्रोचारण गर्छाैं
वेदवाणी फलाक्छौ
र त्यस्मा विवेकको कसिलो लगाम राख्छौ

अर्कोले हामी शब्दको जोहो गर्छौं
त्यसै आहा र ओहो गर्छौ
चिनेकैलाई पनि को हो ? गर्छौ
नाङ्गो उभिएर अरुको चियोचर्चो गर्छौं
परिआए आफैलाइ ढाट्छौ
बलियाबाङगाका पैताला चाट्छौ
उचित दाम पाएमा इमान साट्छौ

हाम्रा दुइटा अनुहार छन्
एउटा रिल वा महफिलको अनुहार
सफा चिल्लो हसिलो रसिलो
ओठमा हर्दम मृदु मुस्कान
सफल सुखी सन्तुष्ट
मानौँ महान
त्यस्माथी चम्किलो सान !!

अर्को तपसिलको अनुहार
धुस्रो फुस्रो फुङ्ग
गुजुल्टिएका दाह्रीजुँगा
कुनै बदमास भुराभुरिले भताभुङ्ग पारी छोडेको
टालाटुली बटुली बेढङ्गको पुतली जस्तो
मर्मले मनलाग्दि ट्याटु खोपेको चर्म
हेर्दामा सर्पको काचुली जस्तो
छुदामा ह्वास्स गनाउने
कुखुराको सुलि जस्तो !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।