ट्वाक्क मीठो अचार : वासुदेव पौड्याल (भद्र)

ट्वाक्क मीठो अचार :  वासुदेव पौड्याल (भद्र)

कपन अनलाइन

काठमाडौं असार २०।

ऋतु अनुकुल धर्ती गृष्मको तेज घाम
तररर पसिना छन् व्योम तातो भू मान ।
उदय गिरि उषामा स्वर्ण मुस्कान लाली
दिनकर गरमी छन् खोज पानी छहारी ।।

घरजम महँगी भो हात जोड्ने कसो हो ?
श्रम सिप पसिनाका दर्द दारुण्य को हो ? ।
अकुत धन चिनारी न्याय इन्साफ खास
घरजम नहुनेको ? राज्यले ख्याल राख ।।

प्रकृति समय गर्भे वीज भण्डार सारा
ऋतु रज रस रागी स्निग्ध हावा पुकारा ।
बिउ हरित हिलोमा वासना मन्द मन्द
अविरल नद नाला भेल पैनी स्वच्छन्द ।।

गगन घनन आंँधी घर्ष थैलो बतासे
धर धर जल वर्षा मेघ गर्जे अकासे ।
मनसुन पनि आयो बेग वर्षा बतास
थलथल धरतीमा रोप ब्याडे असार ।।

ह ह ह ह ह ह गोरु खेत रित्तो किसान
टरटर प्रविधि छन् जोत आली चिसान ।
मधुर स्वर सुसेली गीत काँठे असार
थप कुरकुर च्यूरा ट्वाक्क मीठो अचार ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।