क्षमता : छायाँदत्त न्यौपाने (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,असार ६।
बिहान ७ बजेतिरको समय । क्याम्पसमा पढाउँदै थिएँ । बाहिर बरण्डाको कलह सुनियो । भित्रको कुरा सुन्नै सकिएन । क्यै विद्यार्थी साथीहरू रमाए तर पढाइमा रुचि भएकालाई सह्य भएन ।
क विद्यार्थीले उठेर भने– सर, यी सचेत नागरिकले सही र गलत छुट्याउन नसकेका कि नुनको सोझो ? राजनीति विरोध र समर्थन दुई टोकरीको फोहोर कि समाज परिवर्तनको सूत्र ?
हो, भन्या आफू लागेको समूहले जे गरे पनि ठिक अर्को समूहले जे गरे पनि बेठिक ? यै दोहोरीले खाइदियो हाम्रो सिङ्गै जीवन, निभाइदियो भविष्यको दियो । न निर्बाध पढ्न पाइन्छ न पढेर काम ! ख विद्यार्थीले दुखेसो पोखे ।
म बबुरो ट्वाल्ल परेर सुन्या सुन्यै । कक्षा छाडेर हिँडुँ, समय बाँकी ।
बिचैमा ग विद्यार्थीले भने –सर, यो अपशब्द बोलेर जित्न खोज्ने बहादुरले हैछ है राजनीति गर्ने ? सधैँ विरोध, गाली, अरूलाई होच्याएर आफू अग्लो हुने रे ! यो कस्तो विवेकी विश्वास हो । हामीले त्यै पत्याइदिने, हामी उस्तै कि यी भरौटे खराब ?
मलाई असजिलो भइरहेको थियो । कति मौन रहनु, आँट गरेर भनेँ– दोषी हामी पनि हौँ, देश र जनताको नाम लिए भन्दैमा झुक्किइरहने ? सही कुरो नखोज्ने दोषी हामी नै हौँ । एक दुईपटक त होला भन्ने भो पटकपटक पत्याउने ढाँटेको योजना र प्रतिबद्धता ? खै हाम्रो विश्लेषण गर्ने क्षमता र इमान ?
मलाई उछिनेर क विद्यार्थीले त्यै त सर कतै विकासे नामले लाभ लिने रहेछन् क्यारे ! आफ्ना भनिने नेताले जे बोले त्यै ठिक, जे गरे त्यै राम्रो ? कसैले साँच्चै राम्रो गर्न खोजे अड्बाङ्गे खड्बाङ्गे भाँझो हाल्ने ? यी अन्धभक्तहरूको बिगबिगी कहिलेसम्म सहने ? कि ढिलै भए पनि बिउँझने हो ?
यति सुनेपछि अलिकति साहस आयो । हो, साथीहरू ठिक भन्दै छौ । विद्यार्थी राजनीति पार्टीको निर्देशनमा चल्नु र पाँच वर्षमा एकपटक मासुभात वा सानोतिनो विकास बजेट पाएँ भन्दै आँखा चिम्लेर समर्थन र विरोध गर्नु दुवै गलत हुन् । यो सामान्य लाग्ने तर समग्र उन्नयनको हलाहल भन्ने बुझेर व्यवहार कुशल नबनाएसम्म हात लाग्ने यै कोलाहल हो । नत्र कहाँ दिन्छन् र खोला सङ्लिन धमिलोमा माछा मार्न पल्केका विलासीका आश्रित कार्यकर्ताले ?
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
