आवाज : मनोहर पोखरेल (लघुकथा)

आवाज : मनोहर पोखरेल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९ ।

‘झ्याम्म  ।’
“फुटा, फुटा सब थोक फुटा, केही बाँकी नराख् ।” झन्किदै मालिक्नी भित्र पस्न लाग्दा बाटैमा कैलु देखा पर्यो ।
चर्को आवाजले होस् गायब भएका कैलुको त्रसित मुहार देखेर उनी आगो भइन् । कैलु केही बोल्न खोज्दै थियो । नोकर भएर उपद्रव गर्ने भन्दै कान निमोठेर बेस्सरी चड्कन लगाइन् । कपाल भुत्ल्याउँदै भुईंमै घुमाइन् ।त्यसपछि सिसा फुटाएर अशुभ निम्त्याएको भन्दै कैलुको पुरा खानदानलाई पाँडे गाली गर्न थालिन् ।
मालिक्नी फत्फताउँदै भित्र पस्दा ढोकाको चेपमा दिपुलाई लुकेको देखिन् । उसको पैतालाबाट रगत बगिरहेको थियो ।
सुक्कसुक्क रुँदै दिपुले भन्यो, “सरी मामू ! हामी टिभीमा सिनेमा हेरिरहेका थियौं, हिरोले कराते हानेजस्तै मैले खुट्टा उज्याउँदा झुक्किएर सिसा फुट्यो ।” फुटेको सोकेस हेरिन् र दिपुलाई मुसार्दै मालिक्नीले भनिन्, “फुट्न देऊ, यस्ता नाथे सिसा । बरू तिमीलाई पो धेरै चोट लागेछ ।”
उत्तिखेरै उनले कैलुतिर नजर लगाइन् । उसलाई फुटेको सिसाका टुक्राटुक्रा टिपिरहेको पाइन् । उनले मायालु बोलीमा भनिन्; “कैलु, हुन्दे म सफा गर्छु । तँ सानै छस् । हात काट्न सक्छ ।” मालिक्नीको क्रोध करुणामा परिणत भए पनि कैलुले कामलाई निरन्तरता दिइरह्यो । उसको अटेरीपनले मालिक्नीलाई झन् पानी बनायो । उनले थपिन्; “तैँले समयमै मैले हैन भन्नुपथ्र्यो नि !”
कैलु भुत्भुताउँदै थियो; “टाढैबाट सिसा फुटेको सुन्ने तर नजिकबाट मन फुटेको आवाज नसुन्ने भएपछि कसलाई पो भन्नु र ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।