गुम्सिएको अभिव्यक्ति भित्रका पाना पल्टाउँदै जाँदा : जेबी खत्री (पुस्तक समीक्षा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २ ।
गुम्सिएको अभिव्यक्ति एक उपन्यास हो । यसको यो दोस्रो परिमार्जित र्सस्करण पनि हो । पहिलो पल्ट २०४८ सालमा प्रकाशित उक्त उपन्यासका उपन्यासकार एवम् सर्जक वीरेन्द्र्र थोक्लिहाङ हुन् । २०२८ साल माघ १४ पाँचथरको फालेलुङ –२ एकतीनमा जन्मेका थोक्लिहाङको हालको वसोवास शिवसताक्षी — ११ झिलझिले झापा रहेको छ । माता÷पिता देवीमायाँ÷जङ्गप्रसाद थोक्लिहाङ हुन् भने शिक्षा स्नातकोत्तर एम.एड.नेपाली रहेका वीरेन्द्र थोक्लिहाङका गुम्सिएको अभिव्यक्त २०४८ उपन्यास,घाँडो २०५२ कथा सङ्ग्रह,प्यासी ओठ २०६३ उपन्यास,पिडाःवोर्णिङ मास्टरको २०६४ कविता सङ्ग्रह युद्धमा मारिएकि लुङ्गा वहिनीको चिट्टी २०६५ कविता सङ्ग्रह,यदि उसको भविश्य वन्छ भने २०७६ नाटक सङ्ग्रह,फाल्गुनन्द २०७९उपन्यास,केही किराँतधर्मावलम्वीहरूको जीवन कथा २०८० जीवनी सङ्ग्रह,राजेन्द्र कुमार जवेजू हाङवासाङ २०८१ जीवनी जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् ।
भित्री पृष्ठ २५८ रहेको वीरेन्द्र थोक्लिहाङकृत उक्त गुम्सिएको अभिव्यक्ति उपन्यासको प्रकाशक प्रभाकिरण राई रहेकी छन् भने आवरण सुन्दर वस्नेतको छ । मूल्य रू ५०० रहेको यस कृतिको एस.बी.एन. नम्बर ९७८–९९३६–१–८७५३–४ अङ्ग्रजीमा रहेको छ । सानो उमेरदेखि नै साहित्य लेखनमा लागेका वीरेन्द्र थोक्लिहाङ जीवनको यात्रामा यावत आरोह,अवरोहहरूको सामना गर्दै आजको अवस्थासम्म आइपुगेको देखिन्छ । पात्रका माध्यामबाट समाज सुधारको अपेक्षा राख्नु लेखकको ध्येय हो । यसबाट थोक्लिहाङ पनि अछुतो छैनन् । उक्त थोक्लिहाङकृत गुम्सिएको अभिव्यक्ति उपन्यासको समीक्षा गर्नु भन्दा पहिले यस कृतिका बारेमा पाण्डुलिपि पढी विभिन्न लेखक तथा कवि,समीक्षक,विद्वानहरूले आफ्नो विचार व्यक्त गरेका छन् । यहाँ तिनका विचारहरूलाई पनि उल्लेख गर्नु सान्दर्भिक नै होला भन्ठानी संक्षिप्त रूपमा भएपनि ती लेखक,कवि तथा विद्वानहरूको अभिव्यक्तिलाई पनि उल्लेख गर्ने प्रयास गरिएको छ । यस्ता प्रतिभाले वितेका तीस वर्षदेखि निरन्तर साहित्य साधना गर्न पाएको भए आज उनी कहाँ पुग्थे ? शिर्षकीय लेखमा प्रा.डा.गोविन्दराज भट्टराई लेख्छन् नेपाली लिम्बू जीवन भनौँ संस्कृति र मान्यता बोकेको एक नम्बरको सामाजिक जीवन चित्र रहेछ, आजसम्म फुल्न नसकी कोपिलामै कक्रेर बसेको । तिनै साँस्कृतिक मान्यताले हेरिएका पूर्वी पहाडी गाउँको लिम्बू चेतनाको एक शक्तिशाली चित्र हो यो कृति गुम्सिएको अभिव्यक्ति । उनी अझ अगाडि लेख्छन् एक प्रकृति प्रदत्त शान्त र एकान्त ठाउँमा आदिम लिम्बू देवी,देवता माङद्वारा रचित तिनै आदिम विश्वासले सञ्चालित एक लिम्बू परिवारको कथा हो यो । त्यस्तै गरि फरक धारको दर्दनाक उपन्यासःगुम्सिएको अभिव्यक्ति शिर्षकीय आफ्नो लेखमा प्रभाकिरण राई लेख्छिन् प्रचलित फरक घटनाक्रम भएका मौलिक कथा छन् यसमा । मुन्धुमी र राई,लिम्बूका संस्कार,संस्कृतिमा आधिारित यो उपन्यासले फरक स्वाद र सन्तुष्टि दिन्छ । त्यस्तै गरि भने जस्तो भएन भन्दैमा जन्माएपछि सन्तान होइन भन्न मिल्दैन । बग्रेल्ती सन्तान जन्माउनु भन्दा थोरै जन्माएर जन्मिएकालाई स्याहार गर्नु राम्रो हो । शिर्षकीय लेखमा लेखक स्वयम् लेख्छन् त्यसो त तपाइँको पुस्तक पढेर लेख्न थालेँ भन्नेहरू अझै पनि कति छन् कति सिक्ने चलाखहरू चलाखीले चर्चाको शिखर चुमे तर म सिकाउने सिधा चाहिँ कलमको मसी सिद्धिए झैँ सिद्धिएँ । कागजको मसी झैँ सुकेँ । घाट रुँग्ने माझीकै झैँ नियती भन्दा बढी केही भएन मेरो । लेखक थोक्लिहाङ अगाडि थप्छन् बग्रेल्ती सन्तान जन्माएर बेस्याहार छाड्नु भन्दा थोरै जन्माएर जन्मेकाहरूलाई राम्रो रेखदेख गर्नुपर्छ । भनेजस्तो भएन भन्दैमा जन्माएपछि सन्तानलाई मेरो होइन भन्न मिल्दैन । त्यसैले लाटो,लठेब्रो भएपनि धोइपखाली,कोरीबाटी चिटिक्क पारेर कुटुम्बहरूको अगि ल्याएको छु । त्यस्तै गरि लेखकको अभिव्यक्ति शिर्षकको पहिलो संस्करणबाट लेखमा पनि लेखकले सहयोगी र शुभ–चिन्तकहरूप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै गरि पहिलो संस्करणबाटै नारी जातीका स्वभाविक मौनता तथा उनीहरूका अन्तस्करणमा गुम्सिएको अभिव्यक्त शिर्षकीय लेखमा हिमालय चाम्लिङ लेख्छन् यसमा प्रचलित नेपाली उपन्यास लेखन परम्परका भन्दा भिन्न कथावस्तु,पात्र र परिवेश छन् । यहाँ लिम्बू जातीका सामाजिक तथा आर्थिक विसङ्गति र विकृतिसँगै परम्पराको सजिव चित्रण छ । नारी जातीका स्वभाविक मौनता तथा उनीहरूको अन्तस्करणमा गुम्सिएको अभिव्यक्ति भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
लामा,छोटा र मझौला गरि ४५ अनुच्छेदमा विभाजित उक्त वीरेन्द्र थोक्लिहाङकृत उपन्यास गुम्सिएको अभिव्यक्तिलाई सर्रसर्ती रूपमा हेर्दा यो उपन्यास एउटा क्षितिज नाम गरेको नाबालक केटाको जीवनको मात्र नभइ यस्ता खाले नेपाली समाजका थुप्रै पात्रको जीवन कथा हो । जहाँ यस्ता खाले घटना्,अभाव,आरोह,अवरोह,कथा,व्यथा,दुःख,पिडा झेलेर जीवन यापन गर्दै डुङ्गा रूपी जीवनको यात्रालाई जीवनकै भव–सागरबाट पार लाउदै सफर गर्ने थुप्रैथुप्रै चरित्रहरू रहेका छन् । कुनै न कुनै रूपमा यस्ता खाले घटनाहरू बेहोर्ने यी र यस्ता जीवन कथाहरूप्रति नतमस्तक नेपाली समाज र नेपाली समाजका चेतनशील पात्रहरू जसले तिनका दुःख,पिडामा साथ दिउन् । तिनलाई भरथेग,हातमा हात,साथमा साथ दिएर अगि बढ्ने प्रेरणा र हौसला प्रदान गरुन् । अबको पिढीँले यस्तो दुर्दशा भोग्नु नपरोस । तिनले सबैबाट मायाँ पाउन् । सर–सहयोगको खाँचो नहोस । जीवनको गतिलाई अगाडि बढाउन ऊर्जा प्राप्त होस । सबै वा सिङ्गो समाजबाट मात्र नभइ राष्ट्र पक्षबाट पनि सर–सहयोग र सेवा पाउन् वा पाउनु पर्छ भन्ने सचेतना प्रदान गर्नु उपन्यासको मूल मर्म हो । आफ्नो भाषा,धर्म,जात,संस्कार,सस्कृति आदि यावत पक्षको संरक्षण र सम्वद्र्धन गर्नु पनि उपन्यासको अर्को पक्ष हो । यसलाई पनि कम आँक्न सकिन्न । एउटा टुहुरो बालक क्षितिजको जीवन चर्खामा घुमेको योउपन्यास अत्यन्तै मार्मिक, हृदय स्पर्शी र कारुणिक रहेको छ । क्षितिज नाम गरेको उक्त एक नाबालक पात्र माथि यति विघ्न मानवीय जीवनका आरोह,अवरोह,दुःख,कष्ट र पिडा थोपरिएको छ कि जसलाई उठेर थेग्नै नसक्ने गरिको भार परेको छ । सौतेनी आमाको ज्यादति उस्तै खपिसक्नु छैन ।
स्थानीय परिवेशमा लेखिएको यस उपन्यासमा पूर्वी नेपालको पहाडी लिम्बू समाजमा रहेको अशिक्षा,अन्धविश्वास,पुरानो परम्परा पिछडापन र रुढीवादी सोचको विरुद्धमा पनि मन्द विषको रूपमा स्वर मुखरित भएको भएको पाइन्छ । उपन्यासको मुख्य पात्र क्षितिजले गरेको जीवनको सङ्घर्ष अति दयनीय र डर लाग्दो रहेको छ । मूलतःसम्पूर्ण उपन्यास क्षितिजको जीवन कथा वरिपरि घुमेको यस कृतिमा मानवीय जीवनका अभाव र समस्यापूर्ण जीवन कथा र भोगाइलाई अत्यन्तै मसिनो र कलात्मक ढङ्गले केलाइएको छ । यो सर्जकको कलात्मक कौशलता पनि हो ।
साहित्यमा हतार गर्नु हुँदैन भन्ने कुरालाई बुझेर हो वा नबुझी हो । यो मान्यतासँग मेल खाने थोरै लेखक मध्येका एक लेखक वीरेन्द्र थोक्लिहाङ पनि हुन् । मोफसलमा बसेर हतारो नगरि लेखि बस्ने लेखक थोक्लिहाङसँग मेरो पचासको दशकतिर भेट भएको हो । मेरो चितामाथिको लास सानो उपन्यास र यही उनको गुम्सिएको अभिव्यक्ति उपन्यासको पहिलो संस्करण साटासाट गर्ने क्रममा हाम्रो भेट र चिनजान झापामा भएको थियो । छोटो भेट पछि उनको पाँचथर वसाइ । म भने झपा,काठमाडौँ हुँदै इजरायलतिर लागेँ । इजरायल बसाइको केही समय पछि नेपाल आएँ । त्यसपछि पुनः म आफ्नो रस्तिवस्ति झापा फर्किएँ । त्यसै गरि उनी पनि पाँथथरबाट पुनःझापा झरेपछि पुनःहाम्रो भेट हुन थाल्यो । ढिलो खनजोत गरेपनि बाँझो नछोडि खनजोत गर्दा त गाल परिदो रहेनछ । यसरी नै साहित्यको खेती गर्ने थोक्लिहाङ यतिबेला पुगनपुग एक दर्जन कृति प्रकाशनको हाराहारीमा आइपुगेका छन् । ढिलो होस छोरै होस भन्ने नेपाली लोकोक्तिलाई चरितार्थ गर्न सक्षम थोक्लिहाङ आफ्नो जीवनको कार्य व्यवहारसँगै आफ्नो गाँस काटेर भएपनि साहित्य सिर्जना र प्रकाशनका खातिर निरन्तर डटेर लागि परेका छन् । जीवनका यावत पक्षलाई सँगसँगै लिएर आफ्नो साहित्य सिर्जनालाई पनि निरन्तर अगि बढाइ रहने थोक्लिहाङले नेपाली सािहित्त्यको इतिहासमा आफ्नो नाम दराइ सकेका छन् । जीवनका यावत पक्षलाई सँगै लिएर अभावसँग लड्दै यसरी निरन्तर साहित्य सिर्जनामा लाग्नु चानचुने कुरा होइन । त्यो पनि जीवनको पुवाद्र्धदेखि उत्तराद्र्धसम्म । यद्यपी यी र यस्तै सङ्घर्षमय जीवनले नै सिकाउदो रहेछ साँचो अर्थमा जीवनको पाठ । बुझाउँदो रहेछ जीवन र जगत्लाई क्लियर पाठ । अनि बनाउँदो रहेछ जीवनलाई परिपक्व । हरेक दृष्टिले माझिएर खारिएका छन् थोक्लिहाङ । जीवनको यो पृष्ठमूमिसम्म आइपुग्दा । सायद तिनै दुःख,पिडा र अभावले । टाल्दैटाल्दै ल्याएका छन् जिन्दगीलाई आजसम्म । उनको जीवन सङ्घर्षलाई हेरेर पनि सिक्ने कु्रा धेरै छन् । लाग्छ उनी एउट खुला किताव हुन् ।
वर्ण विन्यासगत त्रुटि खासै देखिदैन । यसमा उपन्यासकार वीरेन्द्र थोक्लिहाङ सचेत रहेको देखिन्छ । बरू ठाउँठाउँ लिम्बू भाषाका शव्दहरू प्रयोग गरिएको छ । यस्ता शव्दहरूको प्रयोग गरिएपनि सही ठाउँमा सही शव्दहरूको प्रयोग गरिएको छ । यसरी प्रयोग भएका शव्दहरूको अर्थ पनि नेपाली भाषामा कृतिको पछाडि पटि कृति भित्रै उल्लेख गरिएकोले पठनपाठनमा जुन सुकै भाषाका पाठकहरूलाई पनि असहज छैन । विषय वस्तुगत दृष्टिले हेर्दा पनि उक्त उपन्यासको विषयवस्तु विस्तृत रहेको छ । खास गरि मानवीय जीवनका आरोह,अवरोह,दुःख,कष्ट,आँसु, हाँसो,दर्द,पीडा,अभाव यी र यस्ता यावत पक्षको विभिन्न घटना,परिघटनामा बडो कलात्मक र मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । भाषागत दृष्टिले हेर्दा पनि सरल भाषाशैलीमा लेखिएको यो उपन्यास अन्य भाषाका लगायत शिक्षित,अशिक्षित सबै खाले केटाकेटी,किशोरकिशोरीहरू र युवायुवती लगायत वृद्धवृद्धाहरूले समेत पढ्न र बुझ्न सक्ने खालको छ । पढ्न थालेपछि नसकुन्जेल छोड्न मन नलाग्ने पाठकको मन यसरी खिच्न सक्ने क्षमता राख्ने विषयवस्तु र भाषाशैलीलाई पनि कम आँक्न सकिन्न । शीर्षकीय पक्ष सामान्य झैँ लागे पनि यसले बोकेको जुन लाक्षणिक अर्थ गहिरो रहेकोतर्फ पनि सङ्केत गरिएको छ । गुम्सिएको अभिव्यक्तिले सोझो अर्थ भन्न नसकेको कुरा वा मन भित्रै रहेको कुरा भन्ने रहेपनि यसको लाक्षणिक अर्थ गम्भिर र गहिरो रहेको भान हुन्छ । पात्रहरूमा जोजो पात्रहरू यस कृतिमा रहेका छन् । नाबालकदेखि किशोरकिशोरी र युवायुवतीदेखि बुढाबुढी प्रायःसबै पात्रहरूले आ–आफ्नो कर्तव्य पूरा गरेका छन् । आफ्नो दायित्व पनि वहन गरेका छन् । कुनै पात्र यतिसम्म वैइमान पनि छन् कि जसले आफूले जन्माएका सन्तानलाई पनि आफ्नो सन्तान हो भनेर सकेको स्याहारसुसार र मायाँमोह दिन सकेका छैनन् । मूलतःपूर्वी नेपालको परिवेश रहेको यस उपन्यासमा प्रकृति चित्रण,रहनसहन,जीवनशैली,शिक्षा,स्वास्थ्य,पिछडोपन आदि विभिन्न पक्षको पनि सफल चित्रण गरिएको छ ।
यसरी समग्र रूपमा हेर्दा उक्त वीरेन्द्र थोक्लिहाङकृत गुम्सिएको अभिव्यक्ति नामक उपन्यास एक शसक्त सामाजिक उपन्यास रहन पुगेको छ । यो एक लिम्बू जाती विशेषको मात्र नभइ सिङ्गो नेपाली समाज र नेपाली मन मुटुको स्वर मुखरित भएको उपन्यास पनि हो । यो मानवीय जीवनको यावत पक्षको उद्घाटन भएको एउटा दस्तावेजको रूपमा उदृत छ । नेपाली साहित्य इतिहासको क्षेत्रमा त्यसमा पनि खास गरि उपन्यास लेखन परम्परामा एउटा गतिलो इँटा थपिएको छ । नेपाली उपन्यास लेखन परम्परामा उपन्यासकार तथा उपन्यासका पाठक,नयाँ,पुराना लेखक तथा सम्पूर्ण साहित्य प्रेमीहरूकालागि समेत यो एक सङ्ग्रहणीय र पठनीय कृति रहेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
