म कहाँ सजाऊँ : त्रिलोचन आचार्य (कविता )

म कहाँ सजाऊँ : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

को हिँड्छ नौलो रचना गरेर ?
को मख्ख छन् खै सृजना गरेर ?
को भन्छ आस्था दिलको जगाउँ
रोपेर आस्था म कहाँ सजाऊँ ?

छन् शुन्य पाखा वन खेत बारी
छन् शुन्य आँखा मनमा छ भारी
छन् शुष्क घाँटी कसरी रसाऊँ
रोपेर आस्था म कहाँ सजाऊँ ?

नेता ठुला हुन् तर चैन छैन
आदर्श रोप्ने अनि ऐन छैन
भन्दैन कोही पथ यो बनाऊँ
रोपेर आस्था म कहाँ सजाऊँ ?

माटो भयो यो श्रमबाट टाढा
नाता भयो यो तर छैन गाढा
भाग्छन् सबै भन्दछ को बसाऊँ
रोपेर आस्था म कहाँ सजाऊँ ?

रित्तो छ आमा घर यो अचेल
जानेहरुकै छ यहाँ त भेल
सद्भाव मैले कसरी जगाउँ
रोपेर आस्था म कहाँ सजाऊँ ?

पाखाहरु छन् सब यी उदास
आँखाहरु छन् जहिल्यै निरास
उत्साह ज्यूँदो कसरी क पाऊँ
रोपेर आस्था म कहाँ सजाऊँ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।