हरियालीको काखमा रहेको आस्था :महेन्द्र चालिसे (नियात्रा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६।
मुक्तिनाथबाट फर्कदा पुरुषोत्तम पौडेलले भनेका थिए –“दाइ, यो ३० गते भित्रमा फेरि कतै घुम्न जाऔं । मेरो गाडिमा दाइ बस्नै भएको छैन त्यसैले यो घुमाई मेरै गाडिमा जाऔं र खाना पनि अम्बिकाले बनाउछिन् । ठीकै छ, कार्यक्रम बनाऊं र खबर गर म त तयार नै छु नी– मैले पुरुषोत्तमलाई भनेको थिएँ । त्यहीं सल्लाह अनुसार २७ गते पुरुषोत्तमले फोन गरेर २८ गते शनिबार बिहान ९ बजेतिर झरुवारासी स्थित सन्तानेश्वर महादेव जाने खबर गरे । गाडी उनैले ल्याउने जस्मा उनी, उनकी श्रीमति अम्बिका, म, मेरी श्रीमति इन्दिरा र बद्रीनाथ पौडेल गरी पाँच जना जानेभयौं । सन्तानेश्वर महादेव मन्दिर भगवान् शिव मन्दिर हो । ‘सन्तानेश्वर’ भनेको ‘सन्तानको ईश्वर’ वा ‘सन्तान दिने भगवान्’ हो । धार्मिक विश्वासअनुसार, सन्तान प्राप्तिका लागि सन्तानहीन दम्पती त्यहाँ पूजा गर्न जान्छन् । जनविश्वास अनुसार त्यहाँ प्रार्थना गर्ने दम्पतीलाई सन्तान प्राप्ति हुने विश्वास गरिन्छ ।सन्तानेश्वर महादेवको पौराणिक कथा पनि उत्तिकै रोचक छ । भनिन्छ, त्यहाँ भगवान शिवको पूजा गरे सन्तान प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । त्यही कारण धेरै दम्पतीहरू सन्तान प्राप्तिको कामनासहित त्यहाँ दर्शन गर्न जान्छन् । स्थानीय जनश्रुती अनुसार, श्रद्धा र विश्वासका साथ पूजा गरे मनोकामना अवश्य पूरा हुन्छ भन्ने विश्वास गहिरो छ । कतिपयले आफ्ना अनुभव बताउछन् कि ‘त्यहाँ दर्शन गरेपछि उनिहरूको जीवनमा चमत्कार भयो ।’
श्हर बजारको चहलपहलबाट सुरु भएको हाम्रो यात्रा बिहानैको ताजा स्फुर्तिसँगै अघि बढ्यो । आरुबारी, माहांकाल, चाबहिलबाट गौशाला हुँदै एयरपोर्टको भीडभाड पार गर्दा शहरको व्यस्त जीवन गाडीको रफ्तारसंगै दौडिरहेको जस्तो लाग्थ्यो । कोटेश्वर पुगेपछि सडकको गहिरिँदो ट्राफिक र ग्वार्को–सातदोबाटोको भागदौडले शहरको रफ्तार झल्काइरहेको थियो । तर, हात्तिबनतर्फ मोडिएपछि भने वातावरण क्रमशः परिवर्तन हुन थाल्यो—धूलो र धुवाँको ठाउँ हरियालीले लिन थाल्यो र मनमा शान्तिको स्पर्श महसुस हुन थाल्यो ।
बाडेगाउँतिर उक्लिँदै जाँदा बाटो साँघुरिँदै गयो, तर दृश्यहरू अझ सुन्दर हुँदै गए । बाटोमा देखिएका हरियाली डाँडाहरू, स–साना गाउँहरू, खेतबारीमा काम गरिरहेका व्यक्तिहरू—यी सबैले हाम्रो यात्रालाई जीवन्त बनाइरहेका थिए । साथीहरूबीचको हाँसो, हल्का ठट्टा र कहिलेकाहीँ गम्भीर गफले यात्रा झन् रमाइलो बनाइदियो । कसैले पुराना सम्झनाहरू कोट्यायो, कसैले भविष्यका योजना सुनायो, र कसैले त “अझ कति टाढा छ ?” भन्दै हाँसो उडायो । गफको सुरमा मन्दिर रहेको डाँडाको फेदी आईसकेछ, जहा सवारी साधनको पार्किंगको राम्रो ब्यवस्था गरिएको रहेछ ।
त्यहाबाट जंगलको बीचमा निर्मित सिँढीको उकालो चढ्दै जाँदा चिसो हावा र चराहरूको मधुर स्वरले थकानलाई बिर्साइदियो । अन्ततः उचाइमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर पुग्दा मन एकाएक श्रद्धा र आनन्दले भरियो । मन्दिर वरिपरि फैलिएको हरियाली, टाढासम्म देखिने डाँडाकाँडा र गाउँहरूको दृश्यले मनलाई एक प्रकारको अलौकिक शान्ति प्रदान ग¥यो । त्यहाँबाट हेर्दा काठमाडौँ उपत्यका टाढा–टाढासम्म फैलिएको देखिन्थ्यो, मानौँ प्रकृतिले आफ्नै क्यानभासमा सुन्दर चित्र कोरेको हो ।
सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १३ ,झरुवारासी स्थित कैलास पर्वतमा अवस्थित रहेको छ । यस मन्दिर सातदोबाटोबाट करिव ५–६ कि.मि. दक्षिण पूर्व दिशामा पर्दछ । ललितपुरको चापागाउँ, ठैब, बाडेगाउँ र धापाखेलबाट सडक संजाल हुँदै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ । समुन्द्री सतहबाट १५०७ मीटरको उचाईमा रहेको सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वतको शिखरमा विराजमान छन् । मन्दिरको फेदी स्थित मुल गेटबाट शिखरमा उक्लनका लागी चारैतिर सिँढी बनाईएको छ । पच्छिमपटिबाट उक्लदा ३६६ वटा सिँढी हुँदै करिव १०० मिटर जतिको उकालो चढ्नु पदोर्रहेछ ।
प्यागोडा शैलीमा निर्मित सन्तानेश्वर महादेव मन्दिर २ तलाको छ । मन्दिरको शीर्ष भागमा एक ठूलो र अरु ससाना गरी कुल ५ वटा गजुरहरूका साथै त्रिशुल र डमरु पनि राखिएका छन् । यस मन्दिरको छाना तामा धातु पाताबाट छाईएको छ । मन्दिरको २ वटै तलामा नै टुँडाल र कुँशल जोडेर आँखिझ्यालको आकृति बनाईएको छ । मन्दिरमा धातुपाताकै झल्लर राखिनूका साथसाथै नुपूर घण्टाहरू पनि जडान गरिएका छन् भने चारैढोकामा तोरण स्थापित छन् । यसैगरी ढोकाको दायाँ–बायाँ २÷२ वटा आँखिझ्याल आकृतिमा झ्याल राखिएको छन् ।
सन्तानेश्वर महादेव मन्दिरभित्र एउटा सानो मन्दिर देख्न सकिन्छ । सो सानो मन्दिरको गर्भगृहमा सन्तानेश्वर महादेवको प्रस्तरस्वरुप रहेको छ । यस स्वरुपमा ३ भाग रहेको पाईन्छ । पहिलो सन्तानेश्वर महादेव, दोस्रो पार्वती र तेस्रो सँगै रहेको सानो शिलालाई गणेश मानी पुजाआजा गरिदै आएको छ । यसको बाहिर अर्को दुई शिला दायाँ–बायाँ रहेका छन् । यी शिलाहरूलाई नन्दी र भृङ्गी मानिएको छ । यस्तै अलि पर अर्को शिला पनि देखिन्छ । यसलाई वासुकी नाग मानिएको छ । त्यहाँ श्री स्वस्थानीको मन्दिर, काल भैरव, वाशुकीनाग, हनुमान, चौसड्ढी शिवलिङ्ग, वसाहा, गणेश, सरस्वती, दुर्गा, कृष्ण, विष्णु लगायतका विभिन्न देवदेवीका मूर्तिहरू स्थापित गरिएका रहेछन् ।
मन्दिरमा पुग्दा दर्शनार्थीहरूको अनुहारमा देखिने आस्था, विश्वास र आशाको झल्को अत्यन्त प्रेरणादायी थियो । कोही मौन प्रार्थनामा लीन थिए, कोही परिवारसँग खुशी साटिरहेका थिए । केही युवायुबतीहरू मेबाईलमा टिकटक बनाउन ब्यस्त देखिन्थे । त्यो वातावरणले सबैको मनमा एउटा अद्भुत शान्ति र सकारात्मक ऊर्जा भरिदिएको अनुभुत हुन्थ्यो ।
फर्किने बेला मनमा एउटा मिठो थकान थियो, तर अम्बिकाले तयार पारेर लगेको स्वादिलो खाना खादा त्यो थकानभन्दा धेरै गहिरो सन्तुष्टि थियो । शहरको कोलाहलबाट टाढा, प्रकृतिको काखमा बिताएको त्यो समय र सन्तानेश्वर महादेवको दर्शनले हाम्रो यात्रा केवल घुमफिर मात्र नभई आत्मिक अनुभव बनेको थियो ।
यस यात्राले हामीलाई सम्झायो—जीवनको दौडधुपबीच कहिलेकाहीँ प्रकृतिसँग नजिकिनु, आस्थामा डुब्नु र साथीहरूसँग रमाउनमा नै साँचो आनन्द प्राप्ति हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
