दलित : शम्भु प्रकृति (कथा)

दलित : शम्भु प्रकृति (कथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

उसको नाम आकृती थियो । ऊ पनौतीबाट काठमाडौं उपत्यकामा पसेकी थिई आफ्नो पढाई र कामलाई सङ्गै अगाडि बढाउनको लागि । बढी नै क्षमतावान थिई ऊ । प्रथम पटकको संबादबाटै म ऊ सङ्ग आकृष्ट भैसकेको थिएँ तर साथीको रूपमा । उसले आफ्नो परिचय दिएर भनेकी थिई म आकृती बस्नेत । मलाई उसको नाम थरसङ्ग केही लिनुदिनु थिएन । तर किन हो ऊ यो कुरामा बढी नै सचेत थिई ।
हाम्रो हिमचिम बढ्दै गएको थियो ।उसको व्यबहार फरासिलो भएकोले एक अर्काको बिचार आदानप्रदान गर्न हामीलाई अप्ठ्यारो परेन । सहजरुपमा घुलमिल हुँदै हामी गएका थियौं । पनौतीको मध्यमवर्गीय परिवारकी ऊ स्वावलम्बी थिई । यो नै उसको सम्पती थियो । काठमाडौंमा आएर आफैं कमाइ गरी आफू र आफ्नो पढाइ खर्च लगायत सम्पुर्ण खर्च ब्यहोर्नु र आत्मनिर्भर भएर बाच्नु कम्ती चुनौतीपूर्ण थिएन । उसको यही हिम्मत त मलाई मन पर्दथ्यो । उसको साथीहरू पनि धेरै थिए । ऊ ब्याचलर पढ्ने भएकोले त्यही उमेरका साथीभाइ हुनु अस्वाभाविक थिएन ।
मेरो पहिलो भेटमा उसले भनेकी थिई –“ हामी साथी मात्र बन्दा हुदैन र ?“ मैले पनि हुन्छ भनें । एउटा कार्यालयमा रिसेप्सन तथा सेक्रेटरी भएर काम गर्ने ऊ बार्तालाप र बातचित गर्न खप्पिस थिई । एउटा शालीन ब्यक्तित्व र स्वाभिमानकि धनी आकृतीको ब्वाइफ्रेन्ड थियो कि थिएन त्यो त मलाई थाहा भएन । त्यसको छनक उसले दिएकी थिइन कारण उसलाई कहिले फुर्सद थिएन पढाइ अनि कामले गर्दा । तर ऊ साहित्यमा अलि रुचि राख्ने हुनाले पनि म सङ्ग नजिक थिईजस्तो लाग्छ ।
मैले बेलाबेलामा सोध्ने गर्थें –“ तिम्रा रुचिहरू के के छन् त ?“ उसले स्पष्ट जवाफ खास दिन्नथि । मैले पनि सन्दर्भ अनुसार मात्र कुरा गर्ने हुनाले एउटै कुराको पुनरावृत्ति गर्न मन लाग्दैनथ्यो । आफ्ना कुराहरू ऊ सङ्ग शेयर ग¥यो र उसका कुराहरू पनि सुन्यो । हाम्रो मित्रता यसरी गहन हुँदै गएको थियो । ऊ अली बढी भावुक र संवेदनशिल भएकीले पनि अर्काको कुरालाई महत्व दिन्थी । भावना र तर्क दुबैमा ऊ प्रबल थिई । उसमा यत्रो आत्मविश्वास कहाँबाट पलायो त्यसको कारण मैले पत्ता लगाउन सकेको थिइन । उसले पलपल प्रगति गरिरहेकी थिई । तर म भने निरीह र अलि हतप्रभ थिएँ । मेरो आत्मविश्वासलाई पनि उसले करिव करिव जगाईदिएकी थिई ।
हाम्रो निरन्तरतामा क्रमभङ्ग तब भयो जब उसको घरबाट उसलाई बोलावट आयो । अलि दुखित हुँदै ऊ घर फर्की । जानू अगाडि उसले मलाई एउटा कुरा खोली । उसले भनी –“म दलितकी छोरी हुँ । मेरो थर बि.क. हो “ म के कुरामा छक्क परेँ भने किन उसले आफ्नो पहिचान अहिलेसम्म लुकाई । मलाई त दलित वा गैरदलित जस्ता शब्दसङ्ग कुनै मतलब थिएन । म कहिले कुनै जातपात छुवाछूतलाई मान्दिन । उसङ्गको मित्रता त चोखो थियो जसलाई मैले संकीर्णरुपमा शुर गरेकै थिइनँ । उसले मलाई किन आफ्नो पहिचान लुकाई त्यो मलाई झक्झक्याउने कुरा थियो ।
उसले भनी –“अब म फर्कन्न होला काठमाडौं । मेरो बिहे गरिदेलान सायद ।“ उसले आफ्नो पढाई पूरा गर्न पाएकी थिई ।त्यो कुराले पनि मलाई अलि सन्तुष्ट बनाएको थियो । मैले धेरै कुरा सोध्ननै सकिन । न उसले बताउन सकी । तर उसका भावहरू मैले पढीसकेको थिईं । ऊ केही भन्न चाहन्थी तर उसले भन्न नै सकिन या भनौं भन्दै भनिन । म पनि अवाक भैरहेको थिएँ ।
त्यसपछी ऊ सङ्ग मेरो कहिले भेट भएन । यो धेरै पहिलेको कुरा हो । म त कहिले कसैसङ्ग डराएर भागिन । जो जे भएपनि सामना गरें । उसमा कसरी आत्मविश्वास पलाएको थियो भन्दा काठमाडौंको खुल्ला बाताबरणमा उ अभ्यस्त हुँदै गएकी थिई ।वास्तवमा ऊ श्रमकी खानी थिई । छोटो अवधिको काठमाडौं बसाइँमा पनि उसले धेरै कुरा गर्न भ्याई । तर ऊ अलिकति आधुनिक हुन सकिन जस्तो लाग्छ । यहीं बसेर संघर्ष गरेकी भए ऊ निक्कै अघि बढ्न सक्थी होली । त्यो कुरा मैले उसलाई बुझाउन सकिन र उसले पनि बुझ्न सकिन सायद । ऊ पारिवारिक र सामाजिक उत्तदायित्व उसको लागि ठुलो थियो । त्यसमा बिद्रोहको लेस मात्र पनि थिएन । ऊ जस्तो मान्छे अगाडि बढेर समाजको विभेद मुक्ति र प्रगतिशीलताका लागि केही गर्न सक्थी कि । म सोचमा हुन्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।