गाली पुराण : डा. छायाँदत्त न्यौपाने (निबन्ध)

गाली पुराण : डा. छायाँदत्त न्यौपाने (निबन्ध)

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

सुन्दर सृष्टिको विवेकी म ! सबै प्राणी सृष्टिले दिएका उपहार हुन् । मान्छे विवेकी भएकाले आफूसहित अरु प्राणीको हितमा काम गर्छ । सबैको कल्याण चाहने मान्छे । म चाहन्छु मान्छेहरू मसँग हिँडुन्, मेरा भक्त होऊन् । म जे गर्छु ताली बजाऊन् जे भन्छु खुरुक्क मानून् मेरो विपक्षमा बोल्दै नबोलून् ! बोलून् पनि कसरी घोक्रेठ्याक कसलाई मन पर्छ ।
म स्वघोषित सचेत प्राणी भनिने तर व्यवहार अचेत गर्ने मान्छेको जमातमा बस्छु ! समाजको त नीतिनियम मर्यादा हुन्छ ।मसँग मेरो हुन्छ । म मलाई मान्छु सामाजिक मूल्य म चिन्दिनँ मलाई त मेरो मूल्य थाहा छ । थाहाभएको नीति मान्ने हो,नभएको ज्ञान खोज्दै हिँड्ने फुर्सद छैन मसँग।
लामो समय तपस्या गरेर मैले ज्ञान गरेको गाली हो । म श्रमजीवी बनेको गाली पुराण पढेर हो । त्यसैले त कण्ठ छ मलाई सिङ्गै गाली पुराण । म यो पुराण जनहितमा गर्ने भाषणसित जोरेर जनसमक्ष पु¥याउँछु । मेरो भाषाण शैली परिपक्व छ । यसबाट धेरै आफन्त भलीभाँती परिचित छन् यो तथ्य यहाँहरूलाई अवगत छ। म व्यवहारमा स्वार्थ पालेर रमाउन जानेको सिपालु नेता हुँ । तपाईंहरूलाई सजिलै यता नउता बनाउन सक्छु । मैले सुसेल्ने समताको उस्तै तिखो सुनिन्छ । म कुराले समताको बौचो भरेपछि निजी सुखमा खुम्चिएर रमाउन सक्ने हैसियत राख्छु।
म,म न हुँ दुनो सोझ्याएर रमाउन सिकेको हस्ती ! मलाई वरिपरिको चासो र चिन्ताले आकर्षित गर्न सक्तैन, हो आजसम्म सकेको छैन । म मेरै लागि चिन्तन गरेर नथाक्ने अगस्ति हुँ ।मसँग सामाजिक विषयमा टाउको दुखाएर मनहुस पगरी गुत्थ्ने रहर छैन। मसँग समाजसेवाका कुरा गर्ने तर काम स्वसुखका लागि गर्ने धूर्त खेलाडी भएको प्रमाणपत्र छ । यै मेरो गन्तव्य हो, तपाईं ढुक्क हुनुहोस्, म कहीँ कतै द्विविधामा छैन ।
यहाँले कत्तिको ख्याल गर्नुभाछ कुन्नि ! हो,अचेल म अरुलाई होच्याएर बहादुर बन्ने विशेष गाली अभ्यासमा जुटेको छु। जति सक्यो दुर्वाच्य बोलेर अघि बढ्ने हो । खुरुखुरु काम गरेर जनहितमा देखापर्न मलाई लाज लाग्छ त्यसैले गाली पुराण कण्ठ गरेको हुँ। अझ भन्नुहुन्छ भने यो चुनावी माहोलमा गाली पुराणको ठुलो महत्व छ ।यतिबेलाको बिकाउ माल हो गाली । यो ताल अनुसार कम्मर मर्काउने कला मैले राम्ररी बुझेको छु । शालीन शैलीमा गतिशील विचार सम्प्रेषण गरेर गन्तव्य चिन्ने÷चिनाउने मानवीय चेतको संवेदनशील जिम्मेवारी होला कसैको ! उसैले निर्वाह गर्छ ।
मेरो लक्ष्य त छौंडा छौडी खेलाउने र गुइँठा गुइँठी जोरेर ढिँडो गुन्द्रुक पकाउने ग्वालाहरूमाथि मिचाहा साँढेका सिङ जस्ता नयाँ नयाँ शब्दहरू खोजी खोजी बर्साउने हो । ती श्रमजीवीको अनुहार कुच्चिने गरी वाण ठोकेर मैले धितमार्ने हो । देखून् न ती गुइँठेहरूले पनि मेरो ताकत !
छाप्रामा उज्यालो पुग्ने गरी आफै कर्म गरेर उदाहरण बन्ने मेरो गन्तव्य हुँदै होइन । मजस्तो राष्ट्रिय नेतृत्वबाट यस्तो गल्ती गरिँदैन र कदापि गरिँदैन, गर्नै सकिँदैन । मैले घनघोटी गरेर पढेको गाली पुराण हो । यसमा कहीँ कतै पनि मानवीय संवेदना, पदीय कर्तव्य, नागरिक दायित्व भनेको के हो ? यसको पालना कसरी गर्ने , कसले गर्नुपर्ने हो भनेर कुनै अध्यायमा क्यै लेखेकै छैन ।
मैले जे पढेँ त्यै जानेँ जे जानेँ त्यै गरँ र गर्ने हो । त्यो भनेको मैले जे भन्छु त्यो ठिक । मैले जे गर्छु त्यो कानुन सम्मत, म जहाँ जान्छु ती सबै गन्तव्य, मलाई पछ्याउने हनुमान,चाकर । मबाहेक जसले जेसुकै गरे पनि त्यो देशको विरुद्धमा हुन्छ । विदेशीको इसारा हुन्छ । मेरो उपस्थितिमा विदेशी हस्तक्षेप हुँदैन । अरुले विदेशीलाई रोक्न सक्तैन । असली राष्ट्रवादी हुँ म, अरुले भन्ने गरेको राष्ट्रवाद नक्कली हो । यो मैले होइन मेरो दम्भले बोलेको दमदार आत्मरति हो,मेरो यथार्थ बखान हो ।
सभा–सम्मेलन जे होस् वा घरदैलो कार्यक्रम म गाली भक्त हुँ। जहाँ जान्छु गाली लिएर पुग्छु । काम राम्रो गरेर परिचय बनाउने बानी छैन मेरो । काम कसैले गर्छ जस म लिने जसपारखी हुँ। अरुलाई कमजोर देखाउन सके म बलियो हुन्छु यो मेरो आदर्श सिद्धान्त अनि मैले अर्जेको जनविश्वास हो । यो मैले ठुलो सङ्घर्ष गरेर आर्जेको योग्यता पनि हो । मैले जसरी तपस्या गर्न सक्ने को छ यहाँ ?
देशका भविष्य केटाकेटी पढ्ने विद्यालयमा छानो छैन, खोलामा पुल छैन, तुइन चुँड्यो, पुस्तकालयमा किताब छैन, बिरामीले उपचार पाउँदैन, किसानले मलबिउ पाउँदैन भने नपाओस्, म के गरुँ ? यस्ता सानातिना झिँगे कुरामा अल्झिने समय छ मसँग र ? मलाई पद र पैसासँग खेल्दा खेलाउँदा फुर्सद हुँदैन, म थकित हुन्छु । पहिला पदपैसाको जोहो गर्नु कति मुस्किल हुन्छ ! छलछाम, धाकधम्की पछि बल्लतल्ल हात लाग्छ जोगाउन कानुनी प्रक्रिया मिलाउँदा मिलाउँदा हैरान ! भागबिलो नमिलाए पोल खुलिहाल्छ । मिलाउन खोज्यो घरी यता फुत्किन्छ घरी उता !

अचेल त झन् जोखिम थपिएको छ । यो सामाजिक सञ्जालको जालले तानेर कहाँबाट कहाँ पु¥याउँछ गोपनीय सूचना । गोप्य राख्न कोसिस गर्छु खै के गरी उत्तानो पारिहाल्छ । कति गाह्रो छ क्या बाँच्न । अझ यो चुनावी चपेटाले त सुत्नै दिएको छैन भन्या ! यता करबट लिन्छु टाङटाङ गर्छ उता फर्कन्छु उस्तै डाङडुङ !
आजका मान्छेले आनीबानी फेरेछन् कि कुन्नि जति फकाउँदा नि ढाँट्या कुरा पत्याउँदै पत्याउँदैन पत्याउन मान्दैन, पटक्कै मान्दैन भन्या, के भा हो यस्तो अटेरी ? कहाँबाट आयो वर्षौंपछिको यो चेतना ? पढेलेख्या युवाहरू बिदेस्याएपछि चेतनाको अनिकाल पर्छ, चेतनाको अनिकाल परेपछि चुनाव जितिहालिन्छ भनेर ढुक्क भा ! त्यति सजिलो देखिएन ! कतै हारिहालियो भने कुन चिसो खोरमा ठ्याङ्ग्रिनुपर्ने हो कहाँको वास हुने हो ! सम्झँदा पनि कस्तो मनै सिरिङ्ग भा !
बिपत् बाजा बजाएर आउँदैन भन्थे यसपालि त पुर्खाको भनाइले पनि फेल खाएजस्तो छ घण्टै ठोकेर आयो नि…! तबै । घण्टा मात्रै हो र कोही दर्जनौं गाँसिएर बलिया बलिया भएर आए, कोही लासबाट उठेर नयाँ सास फेर्दै चिच्याउँदै आए । हेर, हेर चरैतिरबाट घेरा हालेर लस्करै आका ! गर्न नि मेरो त निद हराम गरिदिए नि बरै ! मोराहरूले ।
के केन देश निर्माणका लागि निन्दाचर्चाले होइन नीति, योजना र गतिशील विचारमा बहस गरेर जित विपक्षीलाई । कुरा काटेर अरुलाई होच्याउँदैमा अग्लो भइँदैन बुझ रे ! बिचरा मलाई राजनीति सिकाउने ? बिचरा उम्रँदैका दुइपाते ….।कुन दसाले फेसबुक बन्द गर्न दम्भ्यायो दम्भ्यायो ! यी जेनजी त मेरा लागि जुकै बनेर आए नि ! मैले होइन मैले होइन भन्दा नि नपत्याउने क्या ! नैतिक जिम्मेवारी लिएको भए तै मत्थर हुन्थे कि ! सुरुमा विचार पुगेन पछि अङ्कारले छोडेन । दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले, उफ्…!
ह्या… यो मन पनि के–के सोच्छ, सुतौं, के सुतौं ! निद्रा लाग्नुपरेन सुत्नलाई ! पर्ख न तिमीहरू ! चुनाव जितेर आउन त पाम ! पाता कसेर गोर्खेलौरी लाउँदा देखौला नि बाउको बिहे ! अस्तु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।