आधाले बाधा : भलादमी भोला
कपन अनलाइन
काठमाण्डौ ,चैत २८।
आज बिहान एकाएक घरको भान्छाबाट बुढीले हात झिक्ने कुरा गरी ।उसको गुनासो नसुन्दा मेरो ढन्नासो फुस्किन सक्थ्यो । सन्नासोले किला चेपे जसरी कुरा गरेपछि उसको कुरा नसुनी मैले धरै पाइन ।
नुनको डब्बामा नुन छैन । मेरो कानमा सुन छैन । तसलामा मसला नहाले तरकारी मिठो हुँदैन । भुटुनको भाउ बढेर मुटु नै अठ्याउन लागिसक्यो । चौल्याउनलाई भाँडामा सामल छैन । यो लाइटर पनि के भाको ठ्यास ठ्यास पार्दा पनि ग्यास बल्दैन । अब मेरो हातले यो भान्सा पर्गेल्न सक्दैन ।
लौ, प¥यो फसाद ! घरको भान्साबाट विद्रोहको स्वर आएपछि म छलफलका लागि भान्सा कोठाको भाँचिएको कुर्सीमा जसो तसो बसेँ । संयुक्त राष्ट्रसङ्घको बैठकमा भोकमरी निवारणका लागि यसरी छलफल हुन्छ हुँदैन थाहा भएन तर आज घरभित्र गहन छलफल भयो । घर खर्च नटरेपछि अब खानेकुरामा व्यापक कटौती गर्नुपर्ने आवाज उठ्यो । दाल, तरकारी, अचारबाट दाल र अचार कटौती गरी तरकारी मात्र थमौती गर्ने निर्णय भयो । भातका लागि बिहान र बेलुकाको भोजन समयलाई यथाशक्य तन्काउँदै जाने निर्णय भयो । घरभित्र लामो समय नबस्ने, तलतल लागे पानी पिउने । चौतारोतिर गएर शीतल ताप्ने । खाना खानको लागि तोकिएको समयमा आफू मात्र सुटुक्क भित्र पस्ने । पाहुनाहरूका लागि उनीहरूले ल्याएको कोसेली उनीहरूकै अगाडि भाग लगाई हाँसीखुसी खाने निर्णय भयो । खाली हात पाहुन लाग्न आउनेलाई पानी मात्र दिएर स्वागत गर्ने निर्णय गरियो । एक महिनाका लागि आफ्नै पदमा रहेर काम गर्न श्रीमतीलाई आग्रह गरी, आवश्यक खर्च जोहो गर्ने निर्णय गरियो ।
अर्काको घर ढुक्ने पेसा छ आफ्नो । भन्छन् नि अचेल सेक्युरिटी गार्ड । साहुले दिएको तलबले घर खर्चमा फारो गर्दा पनि झारा टार्न पुग्दैन । रोगव्याधिले समाई हाले औषधि खाने कि भात खाने समस्या गजबको छ । यस्तो पाराले कोसँग दाह्रा देखाएर बेसाहा खोज्ने मैले । ढुकुवा पेसाबाट आएको पैसाले बुढीको अनुहारमा बुकुवा घस्न पनि पुग्दैन । हातमा चुरा लाउने पैसा दिन नसकेको भनी कुरा काट्दै बस्छे बुढी जहिले । अब भान्साको महङ्गी थपिएपछि मैले कसलाई गएर गुनासो सुनाउनु ।
भान्सामा पाक्ने परिकार कटौती गरेको म जैरेलाई एका बिहानै भोक लाग्छ । भोक लागेपछि जंग चल्छ । जङ चलाएर गाली गर्न पनि मिलेन । गाली ग¥यो भने भान्सा आफैले सम्हाल्नु पर्छ । म सम्झिरहेछु । बिहान उज्यालो नहुँदै भोक लाग्यो भने अनुहारमा कालो रङ चढ्दो हो । भोकले आन्द्रा बटारिएर भान्छामा टेकेपछि भरपेट खान नदिने श्रीमतीलाई आँखा तरेर चिथोर्न मन लाग्दो हो । जसरी पनि सहनु त छँदै छ । चाम्रो भएर होस् वा दाम्रो भएर ।
तपाईँले भान्साको समस्या बुझ्नु भएको छ, छैन ? अहिले प्रत्येक गृहणीहरूलाई सरकारले परिपत्र गरेको छ । घरका सबैलाई आधा पेट खुवाउनु । भरिपेट खुवाउन सरकारसँग ग्यास छैन । खर्च कटौती गर्नु । खाना थोरै खानु, चाटेर अघाउनु । यो अचम्मको सूचना सार्वजनिक भएपछि पाहुनाको चाप घटेको छ । नयाँ बन्न लागेको सरकारले आर्थिक क्रान्ति गर्न लागेको भनेर सबैले ताली पिट्न थालेका छन् । शरीरको वजन घटाउन भोजनमा कटौती गरेको भनेर बिहान बिहानै भ्याङले सुरुवात लगाएर फ्याँफ्याँ गर्दै फ्याङल्याङ फ्याङल्याङ फ्यामेको उकालो कुद्नेहरू ताली पिट्न लागेका छन् ।
सबैभन्दा बढी मार्का खन्चुवाहरूलाई परेको छ । खान बसेपछि दुवै हातमा समातेर अरुले उठाइदिनु पर्नेहरूको चैन अब बेचैन भएको छ । घरमा शत प्रतिशत पाहुना कटौती भएका छन् । भोज भतेरमा मिठो मसिनो पाक्न बन्देज गरिएको छ । खानाजन्य रोगहरू नलाग्नाले औषधि बिक्री ठप्प भएको छ । औषधि व्यवसायीहरू आन्दोलनमा उत्रने चेतावनी दिँदैछन् । क्याँस तिरेर ग्यास नपाएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकी लाइनमै आइपुगेका छन् ।
रातभरि जागा बसी बिहान आधा सिलिण्डर ग्यास साझा बसमा हालेर लन्डठ्याङ लन्ठ्याङ भान्सामा छिरेको जागेश्वरलाई उसकी स्वास्नीले जगल्ट्याएकी जगल्टाइन । ग्याँस किन्न दिएको पैसा गाँजा किनेर गन्जागोल पारे पछि गोलन्जोरको गुमाने कता गुल्टियो आजसम्म पत्तो छैन ।
आधा सिलिण्डर ग्यास पाउने भएपछि अब आधा पेटै खानु पर्ने होला । आधा पेट खाएपछि घरको सामल बच्छ । देशले आयात कम गर्नुपर्छ । आयात कम भएपछि देश समृद्ध हुन्छ । हाम्रो प्रतिव्यक्ति आम्दानी ह्वात्तै बढ्छ ।विदेश जाने युवाहरूको लर्को रोकिन्छ ।
हामी फेरि खाद्यान्न निर्यात गर्ने देश बन्न पुग्छौँ ।
आधा पेट खाने नियम बच्चालाई लाग्यो भने कुपोषणको सिकार बन्ला । भर्खर सुत्केरी भएकी सुत्केरीले आधा पेट मात्र खाई भने उसको बच्चाले दुध भरपेट खान पाउला नपाउला । आधा सिलिण्डर ग्यास भनेको आधा भोक हो । आधा गाग्री पानी बोकेर हिँड्दा छचल्किएर आफैलाई भिजाउँछ । आधाले बाधा ग¥यो भने व्यथा बल्झन्छ । अब आधा होइन साझा गरौं ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
