चार मुक्तक : सुनिता बराल

चार मुक्तक : सुनिता बराल

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

अरुको दुःखमा खुसी मान्ने धेरै छन्
धैर्यतालाई कमजोरी ठान्ने धेरै छन्
आत्मियताको परिचय दिँदै घुलमेल भई,
सहयोगी हात हैन खुट्टा तान्ने धेरै छन् ।

धेरै माया गर्थेँ मैले निकै सर्किँदै गयो
बिस्तारै ऊ आफैँ मसँग तर्किँदै गयो
जीवन त एक्लो यात्रा रहेछ बल्ल बुझेँ
ऊ त जाहाँबाट आएको त्यतै लर्किँदै गयो ।

आजकल मलाई कसैको पनि आश लाग्दैन
दुःखका घडीहरू आउँछन् भन्ने त्रास लाग्दैन
बितेका पलहरूले पाठ सिकाएर जाँदो रहेछ,
कसैका मिठा आस्वासन पनि खास लाग्दैन ।

सात समुद्रपारि छौ कसरी सहारा बन्छौ तिमी
मेरो मृत्युमा कसरी आइपुग्छु भन्छौ तिमी
बुझेनौ मनका ती भावनाहरू कहिल्यै पनि,
अथाह सङ्घर्षका पलहरू कसरी गन्छौ तिमी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।