एन्फा अध्यक्ष थापालाई १० वर्षे प्रतिबन्धसँगै २० हजार स्विस फ्राङ्क जरिवाना

काठमाडौँ, ३० कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापाले १० वर्षसम्म कुनै फुटबल गतिविधि गर्न नपाउने हुनुभएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा)ले थापालाई घुस लिएको आरोपमा १० वर्षे प्रतिबन्धसँगै २० हजार स्विस फ्राङ्क जरिवाना पनि गरेको छ ।

एसियाली फुटबल महासङ्घका उपाध्यक्षको कार्यभार सम्हालेका थापाविरुद्ध फिफाको आचार समितिले यस्तो कदम चालेको हो । “फिफाको यही कात्तिक २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो,” फिफालाई उद्धृत गर्दै एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताउनुभयो ।

उहाँले अध्यक्ष थापामाथि कारबाहीबारे एन्फा कार्यसमितिको विधानअनुसार केही दिनभित्रै बैठक बसेर निर्णय लिइने बताउँदै भन्नुभयो – “फिफाको निर्णय हामी मान्नेछौँ ।”

फिफाको विधानअनुसार अध्यक्ष थापाले कारबाहीविरुद्ध अपील भने गर्न पाउनुहुनेछ । थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का मनोनीत सांसदसमेत हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया ।