छेपारे रङ : गंगा खड्का (लघुकथा)

छेपारे रङ : गंगा खड्का (लघुकथा)

कपन अनलाइन
काठमाण्डौ ,चैत २२।

“म त यो काजकिरिया गराउन सक्दिनँ बाबु । आफ्नो बिहे गरेको घर छोडेर सानो जातसँग गएको भन्दै तिम्री आमालाई माइतीले पनि आजसम्म ढिम्किन नदिएका होइनन् ? अहिले मैले तिनी मरेको भनेर काजकिरिया गराएँ भने मलाई समाजले के भन्छ ?” पण्डित बा समाज जोडिएको ठाउँमा ठुलाठुला स्वरले च्याँठिए । उपस्थित सबैले पण्डितकै कुरामा सही मिलाए । सबैको प्रतिक्रिया सुनेपछि पिञ्चे अनुहार लगाउँदै कमलले भने, “आमाले छोडेपछि मैले पाएका सबै दुः ख भुलेर मैले उनको किरिया गर्छु भनेपछि अहिलेको जमानामा नि तपाईंले जातको अड्को थापेर किरिया गराउन सक्दिनँ भन्न मिल्छ र पण्डित बा ?”
कमलका प्रश्न सुनेपछि एकजना वृद्धले प्रतिप्रश्न गर्दै भने, “छोडेर जाने मान्छेको पनि कस्तो माया लागेको होला ?” उनका कुरामा सबैले समर्थन जनाए । सबैका एउटै आवाजले कमल निलाकाला भए । तैपनि उनले पुरातनवादी विचारलाई तोड्ने जमर्को गर्दै आफ्ना तर्क अगाडि राखे, “छोडेर गए पनि मेरी आमा त हुन् नि । त्यसैले मैले आफ्नो मातृशक्तिप्रतिको कर्तव्य भुल्नुपर्छ भन्ने छैन । म अर्का पण्डित बा खोजेर भए पनि आफ्नो कर्तव्य पूरा गरिछाड्छु ।”
कमलको अडान देखेपछि पण्डितले हप्काउँदै भने, “नचाहिने कुरामा मेरो गोरुको बाह्रै टक्का गरेर हुन्छ ? तिमीलाई समाजबाट बहिष्कृत हुनु छ र ?”
कमल केही बोल्न सकेनन् । एउटा निमुखोलाई पाएर ¥याख¥याख पारेको देखेपछि मेरो कन्सिरी तातेर आयो । मैले पण्डित बालाई सोधेँ, “पण्डित बा, हजुरका कान्छा छोराले विदेशी केटीसँग बिहे गरेका होइनन् र ?”
पण्डितले गर्व गर्दै भने, “हो त, मेरो छोरो त विदेशी केटीसँग बिहे गरेर विदेशमा सानसँग बसेको छ ।”
“अनि बुहारीको जात चाहिँ के रहेछ त पण्डित बा ?”
मेरो प्रश्नमा प्रतिप्रश्न गर्दै पण्डितले भने, “कहाँ विदेशीको नि जात हुन्छ त ?”
“अनि विदेशीको जात हुँदैन भने आफ्नै नेपाली दाजुभाइको चाहिँ जात हुन्छ त ?”
मेरो प्रश्नले पण्डित केही बोल्न सकेनन्,उनी अलि हच्किए । त्यहाँ भेला भएका मानिसहरूका बिचमा खासखुस चल्न थाल्यो । पण्डित बा साँच्चिकै अप्ठ्यारोमा परेको महसुस गर्दै मैले खबरदारीका साथ भनेँ, “पण्डित बा ! आफ्नो स्वार्थको लागि जात खोजी नगर्ने तपाईंले सबै मान्छे एउटै हुन् भन्ने बुझेर कमललाई साथ दिनुहोस् नत्र नयाँ पुस्ताले तपाईंको छेपारे रङको खिल्ली उडाउलान् नि ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।