अप्राप्य परिकार : मनीषकुमार शर्मा ‘समित’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
“के सेवा गरौँ हजुर ?” वेटरले विनम्र स्वरमा सोध्यो ।
उसले अगाडि राखिएको मेनु बिस्तारै पल्टाउँदै भन्यो– “एक थाली बितेका पल दिनु न ।”
वेटर मुस्कुरायो– “त्यो त सकियो हजुर ।”
उसले फेरि मेनुका पाना पल्टायो । कुनै हराएको समय खोज्दै थियो– “त्यसो भए… बालपनको स्वाद छ ? अलिकति भए पनि ?”
वेटरले नकारत्मक भावमा टाउको हल्लायो– “त्यो पनि स्टकमा छैन हजुर । मानिसहरू ठूलो भएपछि त्यो परिकार स्थायी रूपमा बन्द हुन्छ । कहिलेकाहीँ सम्झनाको रूपमा मात्र सुगन्ध आउँछ, तर परिकारकै रूपमा हामीसँग छैन ।”
ऊ केही बेर मौन भयो । मौनतामा धेरै कुरा खोजिरहेको थियो । आँखा मेनुमा थिए, तर दृष्टि कतै भूतकालमा हराइरहेको थियो । कुनै पुरानो आँगनको समझनामा– कुनै निर्दोष हाँसो, कुनै निश्छल दिन, जुन कहिल्यै फर्केर कहिल्यै नआउने निश्चित थियो ।
“अनि के छ त यहाँ ?” उसले बिस्तारै सोध्यो, स्वरमा थकान थियो ।
वेटरले मेनु बन्द गर्यो । उसको स्वर पनि गम्भीर भयो– “हामीसँग पश्चाताप छ, अनि एक कप एक्लोपन । के ल्याइदिऊँ हजुर ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
