वसन्त : त्रिलोचन आचार्य (कविता )

वसन्त : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
हाँसी हँसाई वन प्रान्त गोठ
भुल्दै बिझेका दुख दर्द चोट
माटो सजाई हरियाली भर्दै
आईन् बसन्ती मुजुरा उमार्दै

भाका सजी कोकिलकण्ठ प्यारो
पाखा चुली टम्म भरी उज्यालो
माया दिँदै पावन जग्मगाई
धर्ती खुलिन् यो ऋतुराज आई

आँखा जुँधाईकन टाकुराले
थाले कुरा गर्न अनेक खाले
झर्ना गए झर्झर नाच भर्न
को सक्छ यो सुन्दर राज भुल्न ?

उप्केछ बाक्लो हिउँको उपर्ना
त्यो शैल उक्लौँ कि म दोस्ती भर्न
उस्तै तराई पनि स्वच्छ देख्छु
भन्दैछ यौटा कवि काव्य लेख्छु

टाढा बसी बादलका बुटाले
माटो भिजाऊँ अब भन्न थाले
उल्लास चोखो भरियो गरामा
क्या सुख्ख वर्षाद बसुन्धरामा

यो चैत्र बैशाख सजाउँदैमा
पुग्दैन चम्कून् हर बाह्र मैन्हा
आनन्दको राज जमाउनै छ
भन्दैछ मुस्कान छरी वसन्त

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।