बिरहको झरी : अञ्जु चालिसे (रूपाञ्जली)
कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
झरी परिरहेको छ
आकाशबाट होइन—
मनको भित्री कुनाबाट ।
हरेक थोपा पानीजस्तो देखिन्छ,
तर भित्र–भित्र
पीडाको आवाज बोकेको हुन्छ ।
साँझ झर्दै जान्छ,
सूर्य चुपचाप हराउँछ,
र म—एकान्तको गहिराइमा
बियोगको धुनी जगाउँदै बस्छु ।
सम्झनाहरू आउँछन् अचानक,
र चिर्छन् आत्मालाई—
जसरी धारिलो छुरीले
चुपचाप रेटिरहेको होस् ।
यो झरी पानी होइन,
आँसुको एउटा अन्तहीन धारा हो
जहाँ टपटप आवाजमा
दुखले आफ्नै गीत गाउँछ ।
जिन्दगी
रंगहीन क्यानभास बनेको छ,
जहाँ
खुशीको कुनै छाया छैन—
वेदनाका केवल पीडा छन् ।
बादल फाटे पनि मन हलुका हुँदैन,
झरी थामिए पनि दुख रोकिँदैन ।
किनकि
यो झरी बाहिरको होइन—
मनभित्रको बाढी हो,
जहाँ म आफैंसँग बगीरहेको छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
