बिरहको झरी : अञ्जु चालिसे (रूपाञ्जली)

बिरहको झरी : अञ्जु चालिसे (रूपाञ्जली)

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।

झरी परिरहेको छ
आकाशबाट होइन—
मनको भित्री कुनाबाट ।

हरेक थोपा पानीजस्तो देखिन्छ,
तर भित्र–भित्र
पीडाको आवाज बोकेको हुन्छ ।

साँझ झर्दै जान्छ,
सूर्य चुपचाप हराउँछ,
र म—एकान्तको गहिराइमा
बियोगको धुनी जगाउँदै बस्छु ।

सम्झनाहरू आउँछन् अचानक,
र चिर्छन् आत्मालाई—
जसरी धारिलो छुरीले
चुपचाप रेटिरहेको होस् ।

यो झरी पानी होइन,
आँसुको एउटा अन्तहीन धारा हो
जहाँ टपटप आवाजमा
दुखले आफ्नै गीत गाउँछ ।

जिन्दगी
रंगहीन क्यानभास बनेको छ,
जहाँ
खुशीको कुनै छाया छैन—
वेदनाका केवल पीडा छन् ।

बादल फाटे पनि मन हलुका हुँदैन,
झरी थामिए पनि दुख रोकिँदैन ।

किनकि
यो झरी बाहिरको होइन—
मनभित्रको बाढी हो,
जहाँ म आफैंसँग बगीरहेको छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।