तिमी छौ, त्यसैले म छु : शुषमा चित्रकार

तिमी छौ, त्यसैले म छु :  शुषमा चित्रकार

कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
के तिमीलाई थाहा छ
म किन यहाँ छु ?
तिमी छौ,त्यसैले ।
मेरो अस्तित्वको
शुरुआत तिमीदेखि
र अन्त्य पनि तिमीमै ।
तिमीविनाको ‘म’
मेरो छुट्टै पहिचान
कल्पनातीत छ ।
तिमी नहुँदा
मेरो हुनु नहुनु,
शून्य बराबर ।
ब्यर्थ छ,
तिमीलाई बिर्सेर,
मैले आफूलाई सोच्नु
जिन्दगीको परिभाषा
मात्र औपचारिकता
बिना अर्थ र औचित्य
रंगविहीन ।
जाडोमा
घाम नलागेको दिन जस्तै
खुल्न नसकी बाक्लो कुहिरोभित्र
एकतमाश छटपटी
र अत्यास लाग्दो
एउटा अँध्यारो गहिरो कुवा ।
मैले आफूलाई तिमीभन्दा बाहिर
कहिल्यै चाहिनँ
कहिल्यै पाइनँ
सँधैं सँगसँगै,
सृष्टिदेखिको चाहना
तिम्रो साथ
आदि मध्य र अन्तसम्म ।
मभित्र झयाँगिएर
तिमी नै तिमी,
मेरो आफ्नो पृथक
न कुनै नाम न इच्छा
तिमीबिनाको ‘म’
एउटा खोक्रोपना
सहज आफूलाई चिन्न पनि
मलाई गाह्रोपर्छ ।
जिन्दगीमा सार्थकता
तिमीले दिएका छौ,
हर मोडहरूमा तिमी छौ
आड भरोसा
सम्मान र विस्वास
निश्छल समर्पण साँचेर
अर्पेको यो मायामा
तिमी छौ प्रिय,
त्यसैले त म छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।