चार मुक्तक : नानु राना थापा
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
नयाँ जोगीले धेरै खरानी घसेको देखें
आफ्नो धरातल बिर्सेर तल खसेको देखें
टुप्पाबाट पलाउँनेहरूको अहंकारै ठूलो,
आफ्नो मर्यादा पनि भुलेर बसेको देखें ।
धेरै देखें अरूलाई सकेजति व्यङ्ग्य हान्ने
सोच्दो रै’छ आफै महान आफू मात्र जान्ने
मनोरोगीको लक्षण हो भन्छन् डाक्टर सा’ब,
आफू मात्र विद्वान बाँकी अरू सब मूर्ख ठान्ने ।
आफ्नै हुन्छ सुरक्षा न हजुरको हुन्छ न त मेरो
उज्यालो जति उनिहरूकै, हाम्रो भागमा अँधेरो
जागौं जनता हामी सही गलत छुट्याउँनु पर्छ अब,
बुझेनौं भने अब पनि देशको स्थिति हुनेछ अप्ठेरो ।
नानाभाति सपनाहरू बाँडेर जनता नै भ्रममा पर्ने हो
हेर अझ जनता र जनताकै छोरा छोरी कति मर्ने हो
आफू सज्जन र अरू सबै दोषी देख्छन् दोषी चस्माले,
आफ्नो हातमा बागडोर परेमा फेरि के उपद्रो गर्ने हो ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
