यहीँ : त्रिलोचन आचार्य (कविता)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ९।
१ .यहीँ छन् उज्याला जुरेली र हाँस
यहीँ छन् फुलेका गुँहेली गुराँस
यहीँ छन् फलेका मिठा नासपाती
मलाई सधैँ देश यै लाग्छ जाती
२ .यही बुद्ध जन्माउँने दिव्य माटो
यही अन्न भण्डार भर्ने छ पाटो
यही ताल झर्ना यहीँ पात पाती
मलाई मजा देशमै हुन्छ साथी
३. यिनै फाँटमा झुम्न पाऊँ सधैँ म
यिनै कुण्डमा डुब्न पाऊँ सधैँ म
यिनै गोठमा फिर्छु गाई चराई
सधैँ फुर्किँदै हुर्किएको मलाई
४. नदीले सधैँ स्वर्ण चाँदी भरेको
यही श्रृङ्खला हो उज्यालो झरेको
यहीँ नै तपस्या गर्न बस्थे महर्षि
परेँ यै धराको प्रेममा एकतर्फी
५. यहीँ घाम वा जून हाँस्दै घुमेका
यहीँ धाम हो सिर्जनाले चुमेका
यहीँ टाकुरा प्रेरणा दिन्छ उठ्न
यहीँ भर्छु आस्था कर्ममा नित्य जुट्न
६. यहीँ भेट्छु आमा यहीँ भेट्छु भाइ
र आफन्त यैँ प्यार दिन्छन् मलाई
कतै जान्न प्यारो म माटो भुलेर
गए झट्ट आऊँ म टाढा डुलेर
७. छ पैसा भनी दौडिँदै जान्न जान्न
यहीँ गर्छु उद्योग मागेर खान्न
धरा नित्य ढोग्दै म हाँसूँ रमाऊँ
र चम्की यतै विश्वमा जग्मगाऊँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
