बा हराएको सूचना : ध्रुवराज थापा ‘पुरूष’ ( कविता )

बा हराएको सूचना : ध्रुवराज थापा ‘पुरूष’ ( कविता )

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

सूचना ! सूचना !! सूचना !!!
बा हराएको सूचना
आशा लाग्दो
भरोसा लाग्दो
गहुँगोरो लाम्चो अनुहार परेको
हातमा तरबार र ढाल भिरेको
सबैलाई एकताको सुत्रमा बाँड्न सिकाउने
अखण्ड नेपालको खातिर सधैँ चोर औंला ठड्याइ रहने
श्रीपेचधारी
पृथ्वीनारायण शाह नाम गरेका
एकजना बा हराएको सूचना छ
हो उही पृथ्वीनारायण
जसले साम्राज्यबादीको सातो खायो
बाइसे चौबीसे राज्यलाई
एक ढिक्का बनाउने कसम खायो
विशाल नेपालको परिकल्पना ग¥यो
उपनिवेश हुनबाट देशलाई जोगाएर
एउटा सार्वभौम राष्ट्रको रुपमा राख्ने
देशको शिर उँचो राख्ने
हो त्यही वीर पृथ्वीनारायणको
अहिले खाँचो छ
तीन कोटी जनताले
मनको मैला पखालेर
सफा मनले सबैले खोजौँ
तिमी कतै सुन्दै छौ भने
हे पृथ्वी तिमीले ठूलो दुःखले अज्र्याका मुलुकमा
देशी विदेशीको आँखा लागिसक्यो
तिम्रो दुई ढुंगाको तरुल असुरक्षित भइसक्यो
घुस दिन्या र लिन्या राष्ट्रका शत्रु हुन् भन्थ्यौ
तिमीले त्यसबेला
पहिचान गरेका राष्ट्रका शत्रुहरूको
भिड बढिसक्यो
देश थिलथिलो बनाइसके
त्यसैले तिमी जहाँ भएपनि घर फर्क
तिम्रा सालिकमा
थुक्नेहरूको थुतुनो काट्नु छ ।
नेपाल आमालाई घात गर्नेको
हात र टाउकाको पनि
तिम्रै तरबारले उपचार गर्नु छ ।
राष्ट्रका असुरहरूलाई
फेरि एकपटक बढार्नु छ ।
वरिपरि स्याल, गिद्ध र गोहीहरू
नेपालआमाको अस्मिता लुछ्न
नजिक नजिक सर्दैछन् ।
तिनीहरूलाई पनि छेदन गर्नु छ ।
त्यसैले
हराएका पृथ्वी बा खोज्न
तपाईँ हामी सबैले कम्मर कसौं,
अन्यथा नेपाल आमाको
चीरहरण भयो भने
हामी बेकम्मा सावित हुनेछौं
विदेशीको दास बन्नेछौं ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।