बुद्ध हुन् भगवान् : रामबाबु सुवेदी ( कविता )

बुद्ध हुन् भगवान् : रामबाबु सुवेदी ( कविता )

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

लुम्बिनी हाम्रो
स्वर्गको टुक्रो
यहीँ छ हेर !
बुद्धको कोक्रो
कोक्रामा ज्ञानैज्ञान
म नम्र बन्छु
नम्र भै भन्छु
बुद्ध हुन् भगवान् !
हिंसाको बाटो
सधैँ अँधेरो
अहिंसा पाटो
बास्नाको घेरो
बास्नमा शानैशान
बास्नादार बन्छु
रमाउँदै भन्छु
बुद्ध हुन् भगवान् !
संघमा शक्ति
शक्तिमा मुक्ति
मुक्ति र जुक्ति
बुद्धका उक्ति
उक्तिमै मेरो ध्यान
म ध्यानी बन्छु
नढाँटी भन्छु
बुद्ध हुन् भगवान् !
सुशान्तिबाट
सप्रन्छ देश
अशान्तिबाट
भत्कन्छ देश
भत्कँदा तानातान
बुद्धिमान् बन्छु
डटेर भन्छु
बुद्ध हुन् भगवान् !
बुद्धकी आमा
मायादेवी हुन्
यशोधरा र
राहुल धड्कन
बाबा हुन् शुद्धोदन
धर्तीका सोपान
गर्छु म बखान
बुद्ध हुन् भगवान् !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।