सरस्वती पूजा : वन्दना पौडेल ( कविता )

सरस्वती पूजा : वन्दना पौडेल ( कविता )

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

सरस्वती तिमी ज्ञान हौ उज्यालो बाटो देखाउने,
अन्धकार चिर्ने शक्ति हौ विवेकभित्र बोलाउने ।
आज तिम्रो पूजा गर्छौँ, फूल र दीप सजाएर,
फाइदा बढी लिएका छन् तिम्रो नाम भजाएर ।

विद्यालयलाई मन्दिर भनी भाषण सुन्दर बन्छ
तर अभ्यास हेर्दा शिक्षा, किन बजारझैँ देखिन्छ ?
सेवाको आवरणभित्र, नाफाको हिसाब लेखिन्छ
नानीको सपना यहाँ, शुल्कमा किन तौलिन्छ ।

योग्य शिक्षक टिक्न नदिई, बारम्बार बदलिन्छन्,
कारण खोज्दा मौनता छ दोष मात्रै सर्दछन् ।
शिक्षक कमजोर हुन कि यहाँ व्यवस्था थाकेको छ ?
प्रश्न नगरी पूजा गर्नु के यही विवेक हो त ?

ल्याब चम्किन्छ कागजमा वेबसाइट सुन्दर छ
तर प्रयोगविहीन सिकाइ विद्यार्थीलाई खोक्रो छ ।
सिपभन्दा प्रमाणपत्र अगाडि किन सारिन्छ
बौद्विक बालबालिकालाई किन अप्ठ्यारोमा पारिन्छ ।

खेल आवश्यक हुन्छ जीवन यो त सत्य हो
तर सिकाइ बिनाको खेलले भविष्य बन्छ कि खोक्रो ?
हाँसो क्षणिक राहत हो ज्ञान दीर्घ आधार हो
यो भिन्नता बुझ्नु असल अभिभावकको सार हो ।

आजको चम्किलो प्रस्तुति भोलिको भरोसा होइन,
बाहिर हजुरले देखेजस्तो भित्र भने छैन ।
इतिहास मौन साक्षी हो झुट कहिल्यै लुकाउँदैन,
समयले सबै देखाउँछ सत्य कहिल्यै मर्दैन ।

नानी पढ्दै छन् भन्ने सोच, शुल्क तिरेर हुन्न
हामी ढुक्क भएर आज बस्न कहिल्यै हुन्न ।
अभिभावक सचेत नहुँदा शिक्षा कमजोर बन्छ
प्रश्न उठाउने साहसले, गुणस्तर जन्माउँछ ।

सरस्वती मूर्तिमा सीमित छैनन् व्यवहारमै हुनुपर्छ ।
पुस्तक, शिक्षक र अभ्यासलाई नबुझे भोलि रुनुपर्छ ।
दीप बालेर मात्र होइन अज्ञान जलाउनु पर्छ
नत्र पूजा देखावटी बन्छ अर्थभित्र मर्छ ।

नानी ग्राहक होइनन्, भविष्यका वहनकर्ता,
विद्यालय व्यापार होइन, संस्कारका संरक्षक ।
नाफाभन्दा मूल्य ठूला छन्, इमान र जिम्मेवारी
यी बिना शिक्षा हुन्छ, केवल खोक्रो तयारी ।

आज सरस्वती पूजा हो फूलसँग प्रश्न देऊ,
अन्धो विश्वास होइन विवेकको बाटो लेऊ ।
शिक्षा शुद्ध रहोस् भनेर सचेत छनोट गरौँ
त्यही नै साँचो पूजा हो हे मातृ त्यही अर्पण गरौँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।