हतारो गरियो भने : त्रिलोचन आचार्य ( कविता )

हतारो गरियो भने :  त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।

१. कता के के कता के के चटारो गरियो भने
भेट्नै गाह्रो हुने लक्ष्य हतारो गरियो भने
कहाँ छन् गहिरा खोच कता छन् भ्वांग भासिने
देखिँदैन हतारोमा बेला आउँछ मासिने

२. पुगिन्छ हिँड बिस्तारै दुर्घटनाविना पनि
हुन्न जोखिममा फस्ने कैल्यै अमूल्य जीवनी
तर होश नपुग्दामा जोस नै पनि हार्दछ
ढाँचा पूmर्ति बढी गर्दा भन्छन् नक्कल पार्दछ

३. बिहानी पर्खँदै बस्र्दा रात सिँगै गुजार्दछ
वासन्ती दिनले जित्न वर्षौँ पर्खनु पर्दछ
यात्री गन्तव्यमा पुग्न थुप्रै बास बिताउँछ
कल्पना मात्र हो पुग्ने जस्ले जे जे चिताउँछ

४. भित्री विश्वासले गर्छ युगौँ युग समर्थन
हाटहुट गरी हिँड्दा भेटिन्न लय वा धुन
चोखो आत्मीय लालीमा तालीको कुन भाउ छ
प्रेमले जित्छ संसार गालीको कुन भाउ छ

५. धुरी चढ्छु भनी उठ्दा पाइला बस्न सक्दछ
डोको भर्छु भनी लाग्दा पोल्टाकै खस्न सक्दछ
गन्तव्य पुगिने हैन बाटैमा छरियो भने
भनेको पुग्न गाह्रो छ हतारो गरियो भने

६. लतारेर हिँडौँ भन्दा उल्टै लतार्न सक्दछन्
पछार्छु म घुमी भन्दा उल्टै पछार्न सक्दछन्
हुन्न भन्नु कतै कैल्यै जालझेल गरी छलौँ
पुर्खा भन्थे नहोस् कैल्यै तातै खाऊँ जली मरौँ।

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।