कवि शिरोमणि श्रद्धाञ्जली अर्पण : वासुदेव पौडेल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
भाषा प्राकृत लेखनाथ कवि हौ पौड्यालका वंशमा
नेपाली कवि मा शिरोमणि भयौ प्रख्यात साहित्यमा ।
छन्दोबद्ध विधा मिठा रचयिता दैलो उघारि दियौ
नेपाली अनमोल काव्य रचना हुर्काइ खाँबो भयौ ।।
माता दूध बसुन्धरा अमरता कास्की भयो जागृत
दुर्गा दत्त पिता खरो सरलता सोझो सिधा पण्डित ।
नेपाली जन बोल शब्द रचना पस्काइ साहित्यमा
स्रष्टाको पहिचान आधुनिकता दर्साइ नेपालमा ।।
मीठो श्लोक सदावहार सरिता लालित्यका तिर्सना
प्राणी जीवन मानवीय करुणा पीडा र संवेदना ।
ढुङ्गा अक्षर छन् प्रवाह कविता सन्दर्भ सामाजिक
धेरै छन् उपदेश मर्म कबिला जोगाउने साधक ।।
मान्छेका मन ज्ञान अन्त्य पथमा सम्झाउने चेतक
नेपाली मनसा विरासत भयौ शब्दार्थ उत्तोलक ।
आत्मा चिन्तक प्रश्न उत्तर गर्यौ को हुँ ? म के हुँ भरे ?
आफू चिन्नु स्वयं बडा सकस यो स्वाध्याय संस्कारले ।।
धर्ती व्योम ऋतम्भरा सहजता ब्रह्माण्डका चिन्तक
सेताम्ये तन केश सुन्दर छटा लामो छ दार्हृी तक ।
हाम्रो भाग्य अहो ! तिमी उपरमा लेख्ने कला साधन
श्रद्धा पुष्प लता सुशोभित सदा श्रद्धाञ्जली अर्पण ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
