न्यायको ज्वाला रगतले लेखियको पुस्ता : आसा भट्टराई (कविता )

न्यायको ज्वाला रगतले लेखियको पुस्ता : आसा भट्टराई (कविता )

कपन अनलाइन

काठमाडौं,पुस ५।

अध्यारो २३ भदौको त्यो रात
सडकमा जलिरहेको थियो
न्यायको भोको पीडाको रोदन
र चिच्याइरहेको थियो युवाको आवाज ।

जेन्जीले उठायो साहसिक कदम
बन्दुकको धाक पनि झुकेको आत्मा
रगतले लेखिएको आन्दोलन
तर शासक मौन कान बन्द ।

सम्झौताका कागजहरू
सुक्दै गए धुलोमा
शिवरात्रिको प्रतिज्ञा जस्तै
शब्दहरू खोक्रो ध्वनि मात्र ।

अहिलेसम्म न्याय
कतै छैन पूर्व छायाँझैँ अधुरो
उज्यालो खोज्दै अड्किएका सपनाहरू
अहिलेसम्म मेटिँदैन ।

किनकि घाउ अझै ताजा छ
पीडाको अपमानको प्रतीक्षामा ।

तर यो पिँढी
थाक्दैन, झुक्दैन, रोकिँदैन
यो होइन डरको पुस्ता
यो हो परिवर्तनको ज्वाला ।

जेन्जीको आँखा देख्छ
भोलि कस्तो देश बनाउनु छ
र उनीहरूको मुटु चिच्याउँछ ।

न्याय बिना शान्ति हुँदैन
शान्ति बिना देश बन्दैन ।

यो ज्वाला निभ्दैन
यो बाटो मोडिदैन
किनकि नयाँ पुस्ताको कसम खाएको छ
गोलीले होइन सत्यले लेखिनेछ अब इतिहास ।

र यसपटक
त्यो इतिहास मेटिँदैन ।

सडकमा उत्रेको भीड होइन
यो त देशको धड्कन हो ।
न्याय खोज्दै हिँडेका पाइलाहरूले
आज इतिहासको दिशा नै मोड्दै छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।