प्रचण्ड संग सेनाको आपत्ति

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाको साथ माओवादीलाई रहेको भनी सार्वजनिक मञ्चबाट दिएको अभिब्यक्तिप्रति सेनाले आपत्ति जनाएको छ । गत शनिबार राजधानीमा माओवादी भ्रातृ संगठन ताम्सालिङ मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा प्रचण्डले माओवादीका थोत्रा हतियार बुझाए पनि सिङ्गो नेपाली सेना नै अहिले माओवादीको पक्षमा आईसकेको विवादास्पद अभिब्यक्ति दिनुभएको थियो ।

सोही अभिब्यक्तिप्रति संकेत गर्दै सैनिक जनसंपर्क निर्देशनालयले आज विज्ञप्ती जारी गरी नेपाली सेना वैधानिक सरकारको मातहतमा रहने र वैधानिक सरकारले राष्ट्र र जनताको हीतमा हुनेगरी दिने वैधानिक आदेशको मात्रै पालना र कार्यान्वयन गर्ने स्पष्ट पारेको छ । साथै नेपाली सेनाको गैर राजनीतिक चरित्र सवैका सामु स्पष्ट रहेको जनाउँदै विज्ञप्तिमा विभिन्न संचार माध्यममा आएका तथा विभिन्न मञ्चमा ब्यक्त भएका अभिब्यक्तिको भ्रममा नपर्न पनि सवै पक्षलाई आग्रह गरिएको छ ।

सेनाले आफु संपूर्ण नेपालीको राष्ट्रिय सेना भएको भन्दै सेना सम्बन्धमा कसैले चलाउने अफवाहको भ्रममा नपर्न पनि आग्रह गरेको छ । यसैबीच, चितवन राष्ट्रिय निकुञ्जको नमूना मध्यवर्ती सामुदायीक बनमा सिकार खेली मृग मारेको अभियोग लागेका सहसेनानी कुलदिप कुँवरलाई सैनिक हिरासतमा राखी कोट अफ इन्क्वाइरी गठन गरिएको पनि सेनाले जनाएको छ । दुइ दिनअघि नवलपरासीका स्थानीयले सहसेनानी कुँवर, सेनाका पूर्व जर्नेल सागर शमशेर राणा र पूर्व सुवेदार सीताराम कार्कीलाई मृगको शिकार गरी फर्कंदै गर्दा समातेका थिए ।

तपाइँको प्रतिक्रिया ।