खरानीमा पनि उम्रन्छ बिउ : प्रा.डा.हेमनाथ पौडेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
त्यस दिन अनपेक्षित भिड थियो सडकमा
स्वरहरू गुञ्जायमान थिए आकाशमा
नारा थिए न्याय र सुशासनका
छातीमा आगो थियो
आँखामा सपना
युग फेर्ने बल थियो
जेन्जीका पाखुरीमा ।
चढेर एक्कासि तिनका निश्छल काँधमा
चलमलाए अज्ञात काला छायाँहरू
र देशलाई होमे आगोका लप्कामा
गरे अमूल्य सम्पत्ति र इतिहासको विनाश
अनि तृप्ति दिए शदियौँदेखिको
आफ्नो विध्वंशकारी अतृप्त प्रेतात्मालाई ।
भुलेर सबै आदर्श र बचनबद्धता
छोडेर आफ्नो मार्ग र विचारको निष्ठता
बिर्सेर विगतको सङ्घर्षपूर्ण इतिहास
चढाएर आफ्नो आङमा उही प्रेतात्मा
रूपान्तरित भएको गणतन्त्रको मसिहाले
सत्ता र शक्तिका उन्मादमा
उमार्दा दलीय कुशासन र भ्रष्टाचार
थपियो विध्वंको आगोमा घिउ ।
यता भँगाला बने
आन्दोलनकारी जेन्जीका आवाजहरू
कोही आदर्शको डोरी समातेर
पौरिन थाले अन्धकारका दहमा
कोही बोकेर पुरानै सपना
ठोक्किन थाले चट्टानी भित्तामा
हुँदा एकनिष्ठताको अभाव
निमोठिए जेन्जीका आत्मा
लुटिए सपनाहरू
मेटाउन खोजियो
तिनका पदचिह्नहरू
र उनकै बलिदानमा टेकेर
सत्ताको रङमा रङ्गिए भुइँफुट्टाहरू ।
नआएका होइनन् इतिहासमा
कैयौँ काला रातहरू
तिनलाई परिणत गरिएकै हो
सुनौलो बिहानीमा
चिहानमाथि पनि जिन्दगी रोप्ने
शक्ति छ हामीसँग
बनेर सृजनाको ज्वाला
हुँदैछ विचार अझै स्पातिलो
जो अन्धकारमा पनि
छरिरहन्छ आफ्नो प्रकाश
पाखा लगाएर तथाकथित
जेन्जीका मुखुन्डाहरूलाई
वास्तविक जेन्जी फेरि उठ्ने छन्,
हामी सबै फेरि उठ्ने छौँ
र परास्त गर्ने छौँ
ती विध्वंशकारी काला छायालाई
र सुक्षित राख्ने छौँ यो सुन्दर देशलाई
इतिहास साक्षी छ
हरेक आन्दोलनमा बगेको रगतले
अन्त्य होइन,
नयाँ जीवनको गरेको छ सुरूवात
झरेका छानाहरूमा नयाँ छत बन्न सक्छन्
रोकिदैन कहिल्यै सृजनाको बाटो
हो खरानीमा पनि उम्रन्छ बिउ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
