रहस्यमय चोरी : महेन्द्र चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
एकाबिहानै छिमेकमा केही सामान ओसार पसार गर्ने गाडिहरू यसो हेर्दै पुराना खालका दैनिक उपभोगका सामानहरू लिएर आईपुग्छन् । त्यहा दुई चार महिनादेखि एउटा सानो घर र केही टहराहरू निर्माण हुदै थिए । सहरीकरण हँुदै गैरहेको त्यो गाऊंमा स्थानियभन्दा बढी बाहिरबाट आउने आगन्तुकहरूकै बाहुल्यता हुदैथियो । किनकी अरुको देखासिकि, आधुनिकीकरण, रोजगारीको अभाव र स्वरोजगारी रुपी आफ्नो जग्गाजमिनमा काम गर्दाको हीनत्ववोध आदिका कारण स्थानियहरूमा “आना बेच्ने दाना खाने” प्रवृत्ति अर्थात आफ्नो पुख्र्यौली सम्पत्तिको रुपमा रहेको बाबुबाजेले दुःख गरीगरी जोगाई दिएको जग्गा जमिनहरू खण्डीकरण गर्दै बेच्दै दैनिक आबश्यक्ता, बिहेबारी, चाँडपर्व मनाउने सस्ंकृतिको बिकास भैरहेको थियो । त्यसैले छिमेकमा को आयो के आयो भनेर खासै कसैले चासो राख्दैन थिए ।
“ए दाइ, त्यहा त टुबहादुर खत्री बस्न आएछन् नी” एकजना स्थानिय भाई अचम्मको स्वरमा भन्छन् । टुकबहादुर एकजना पढेलेखेका, अध्ययनशील, विद्वान राजनीतिज्ञ व्यक्ति तर पीडित भनेर चिनिन्थे ।
ए राम्रै भएछ त, त्यस्ता राम्रा ब्यक्रिहरू त टोल छिमेकमा बस्न आउनु भनेको त समाजलाई राम्रै हो नि –उ त्यो भाइलाई भन्छ । त्यसपछि बेलाबेलामा टुकबहादुरसँग भेटघाट हुनथाल्यो, विद्वान मान्छे, राजनीतिको राम्रो विश्लेषक । भेटघाट हुने ठाऊं भनेको उही टोलकै चिया पसल, यसो बजार जादा वर्दा अथवा कही कतै कार्यक्रमहरूमा न हो । भेटेपछि चाही उनीसँग फाल्तु गफ भन्दा विद्वत्ताकै कुराकानी हुन्थे – मान्छे फरासिला जो थिए ।
उनी टोलमा बसाई आएको पाँच सात महिना पछि उन्ले आफ्नो घर कम्पाउण्डमा एउटा कुटिर उद्योग संचालन गर्न थाले । सानो तीन चार कोठाको घर जहां उनी बस्थे, घर वरिपरि दुःख सुखले केही टहराहरू निर्माण गरेर उनले कुटिर उद्योग थालेका थिए । र।ाजनीति गर्ने मान्छे, पढेलेखेका तत्कालिक समयमा नाम पनि चलेका सायद उनलाई उद्योग थाल्नका लागि आवश्यक रकम जोहो गर्न अन्यत्र गारो भए पनि सायद बैंकसँग त्यति गारो हुदैनथ्यो होला र उनले लिए पनि होलान् किनकि त्यो टोलमा बसाई आउदा उनको आर्थिक स्थिाति अलि कमजोर नै थियो भनेर उन्का जानकार र समकालिनहरूले भन्ने गर्थे ।
यसो भेटघाट हुँदा “आउनोस न, तपाईहरू जस्ता पुराना रैथाने स्थानियहरू हाम्रा घरतिर यसो आईदिनु भयो भने पनि हामिजस्ता नयाँ बसाई आउनेहरूलाई अरुले हेप्न सक्दैन” भन्थे । तर उनी त्यहाँ बसुन्जेल कहिल्यै अनुकुल मिलेन उन्को घर जान ।
गरिखाने मान्छेलाई बास्तबमा यो समाजका चोर उचक्काहरूले गरिखान दिदैनन् । बिचरा टुकबहादुरको कुटिर उद्योगमा पनि दुई चार महिना दुई चार महिनाको बिचमा चोरहरू पस्ने, घर फोड्ने गर्न थाले । अनि पुलिसहरू आउने निरीक्षण गर्ने र सरजिमिन गरेर मुचुल्का उठाएर लग्थे ।
एउटा अचम्म चाही के थियोभने त्यो टोलमा अरु कसैको घरमा चोरी हुदैनथ्यो खाली तिनै टुकबहादुरको घरमा मात्र चोर पस्थ्यो । अनि उनका घरमा के के चोरी हुन्थ्यो त्यो पनि त्यो पनि छरछिमेकका कसैलाई थाहा हुदैनथ्यो र त्यहाँ चोरी गर्ने चोरहरू कहिल्यै समातिए कि समातिएनन् त्यो पनि कसैलाई थाहा भएन र सोध्ने कुरा पनि त भएन ।
केही समयका लागि ऊं बाहिरतिर जानु पर्ने भएर गयो । त्यही बिचमा उस्ले सुन्यो टुकबहादुरले ठूलो राजनीति अवसर पाएर उनी ठूला मान्छे भएरे भनेर । उस्लाई लाग्यो राम्रौ भयो किनकि राजनैतिक रुपले उनी निकै पिडित नै थिए । त्यसपछि टुकबहादुरले त्यो टोल छाडेर अन्यत्रै बसाई सरेरे ।
ऊं पनि केही समय पछि घर फर्कियो अनि उस्को दिनचर्या उही पुरानै ढंगले चल्नथाल्यो । निकैपछि एकदिन टुकबहादुरको घरसगैं घर जोडिएका र टुकबहादुरका सहयोगी छिमेकीसँग भेटभयो । कुरैकुरको सिलसिलामा उस्ले ती छिमेकीसंग सोध्छ – आजकाल तपाईहरूको टोलमा पहिला जस्तै घर फोर्न चोरहरू आउछन ?
उसको प्रश्न सुनेर ती व्यक्ति मुसुक्क हास्छन् र भन्छन “हैन दाइ, हाम्रो टोलमा टुकबहादुर बाहेक आजसम्म अरु कसैले बिमा गरेका छैनन् र त्यसरी बिमा गर्नुपर्छ भनेर कसैलाई थाहा पनि छैन । त्यसैले हाम्रो टोलमा टुकबहादुर आउनु अघि पनि र टुकबहादुरले टोल छाढेर गए पछि पनि कुनैदिन चोर आएको हामिलाई थाहा छैन ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
