आनिबानी : चन्द्र श्री कार्की ( कथा )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
हाम्रो विवाह भएको पनि वर्ष दिन भएछ, हिजै मात्र विवाहको वार्षिक समारोह दुबै परिवार र छोरी–ज्वाई, भान्जा–भान्जी, दिदी–बहिनी र मामा घरका मात्र घरमै भेला भएर हामी प्रति शुभेच्छा प्रकट गर्दै रमाइलोसँग मनाइयो । मेरो आफ्नै साथी सुरभी अहिले आफ्नै नन्द हुनपुगेकी त्यत्ति खुशी थिइनन् किन हो ।
वितेको एक वर्ष हामी पति–पत्नी बीच राम्रै समझदारी रह्यो, उनका बा–आमा पनि मप्रति माया ममता मात्र राख्दैन थिए, ज्यादै विश्वास गर्दथे । अँ, के कारण थियो नन्द सुरभी चैं उति खुलेर पहिले जस्तो व्यवहार गर्दैन थिइन् ।
सुरभी स्कुलदेखि नै आफू भन्दा ठूलो कक्षाका साथीका दाइहरूसँग घुलमिल गर्ने प्रयासमा रहन्थी, अरुको अघि मेरो केटा साथी (ब्वाइफ्रेण्ड) भनेर गफ ठोक्न बेर लगाउदिन थिइन् । मेरो दाइ प्रज्ञान हालै अमेरिकाबाट उच्च शिक्षा अध्ययन पूरा गरी स्वदेश फर्किएर आएका थिए । मेरो माइतीमा उनको विवाहको कुरा चल्दै थियो, सुरभीले मेरो कोठामा पसेर सुटुक्क भनेकी थिई “तँ त मेरी भाउजू भइस् अब मलाई पनि तेरी भाउजू बनाइदिनू ल” म त छक्क परेँ ।
“यो कस्तो सपना देखेकी हौ तिमीले, हामीलाई थाहा भएको हो, मेरो दाइको हाम्रो साथी प्रज्ञासँग दशौं वर्षदेखिको सम्बन्ध थियो । अहिले दुवै परिवारको बीच विवाह गर्ने तिथि मिति टुङ्गो लगाउने सरसल्लाह भइरहेको तिमिलाई थाहै छ ।” मेरो जवाफ सुनेर विफ्रिदै गएकी, त्यो दिनदेखि उनी मसँग खुशी छैनन् ।
हिजोको पारिवारिक जमघटमा एकजना फाल्तु पाहुना के गरी सहभागी भए भन्ने हामी पति–पत्नीबीचमा खुल्दुली भयो । मैले पढाउन जाने कलेज जाँदा–आउँदा मेरो स्कुटी अघिपछि त्यो व्यक्ति वाइकमा देखिन्थ्यो । कुनै बेला क्यान्टिनमा झुल्कन्थ्यो अनि म बसेको टेबुल अघि वा पछिका टेबुलमा बस्थ्यो । ऊ हाम्रै कलेजमा लास्ट बेन्चर् समूहको नाइके झलक प्रसाद हो कि जस्तो लाग्छ । आफैंलाई झिल्के भन्दै गौरव गर्छ, भन्थे साथीहरू । म साह्रै आवश्यक पर्दा कलेजबाट फर्कँदा, शपिङ्ग मल, डिपार्टमेन्ट स्टोर र मार्टतिर पसेका बेला पनि झिल्के त्यहाँ झल्याकझुलुक देखिन्थ्यो । मैले उनको यो गतिविधिप्रति त्यति ध्यान दिने गरेकी थिइनँ, न त मेरो पतिलाई सुनाएकी थिएँ । हुन त हाम्रो विवाह पछि नै त्यो व्यक्तिको गतिविधि शंकास्पद थियो नै तर मेरा दाइको विवाह पछि त अति नै गर्न थाल्यो, हो न हो मेरो छायाँ नै हो कि जस्तो ।
“सुरुची ! तिम्री भाउजूले कलेजबाट स्कुटीको पछिल्लो सिटमा एउटा ठिटो लिएर सिभिल मल कमल पोखरीमा आएकी छ” रेष्टुराँको एक कुनामा उभिएर फोन गर्दै गर्दा कठालो समातेर सुवास भाइ (मामाको छोरा) ले म बसेको टेबल छेउमा ल्याएर उभ्यायो, झिल्केजीलाई । कुनाको खाली टबुलमा लगेर बसाएर सुधाले सोधिन्“भाइ, तिमीले मलाई पछ्याएको एक वर्ष नाघ्यो अरु केही काम गरेको भए के कति उपलब्धी पाउँथ्यौ होला । यसरी एउटी विवाहित महिलालाई पछ्याउन महिला हिंसाको निकृष्ट अपराध हो, मैले अहिले प्रहरीलाई फोन गरी बोलाउँदा तिमीले धेरै दुःख पाउँछौ । एउटा अविवाहित युवक प्रहरी खोरमा जानु, अदालतको फैसलाबाट जेल जानु तिमी, तिम्रो परिवार र आफन्तलाई कति पीडादायक हुन्छ ? तिम्रो गर्लफ्रेन्ड छिन् भने उनले के सोच्लिन् विचार गर त ।
मेरो भनाइ सुन्दैगर्दा उसको अनुहारमा बादल लाग्दै गयो, मैले अलि कडा स्वरमा कड्किँदै भनें – “ओइ झिल्के ! तँ किन कसका लागि यस्तो गर्दैछस्, साँचो कुरा भन्छस् कि प्रहरी बोलाउँ”, यति भन्नासाथ उसका आँखाबाट आँसु बर्षिन थाल्यो, घुँडा टेकेर विन्ती गर्न थाल्यो – “दिदी माफ गरिस्योस्, मलाई त गर्लफ्रेन्डले नै मसँग सम्बन्ध बढाउने भए मेरी भाउजूको घर बाहिर हुँदाको जासुसी गरी मलाई जानकारी गराउन बाइकमा तेल हाल्ने र खाजा खर्च दैनिक रु. एक हजार दिन्छु भनेर बेरोजगार भत्ता पएको लोभमा यस्तो गरेको हुँ । तपाईको चरित्रमा कुनै खोट न भेटिएको भनेर रिपोर्टिङ्ग गर्दा उल्टै दैनिक भत्ता नपाउने भयो, आज भने बल्ल तपाईको स्कुटीमा यो भाइ बसेको भेटेपछि त्यसको फोटो खिचेर मोवाइलमा पोष्ट गरी सेन्ट गर्दा उनी खुशी भएकी थिइन्, उनले मेरो पुरै भत्ता दिने बचन दिएकी थिइन् तर उल्टै पक्राउ परियो, मलाई क्षमा गर्नुस्” भन्दै गोडा समायो ।
“को हो त तेरी गर्लफ्रेन्ड नाम त होला नि ?” भनेर थर्काएँ ।
“तपाई कै साथी, तपाई कै नन्द ‘सुरभी’ के त ।”
हँ, म त छक्कै परें, दिदी ! आफ्नो यस्ती देवीजस्ती भाउजूको चियोचर्चा मात्र नगरी जासुसी गराउने केटीले भोली मलाई के गर्ली । आजैदेखि, अहिलेदेखि नै ऊ सँग मेरो कुनै सम्बन्ध रहेने छैन । यति बचन दिन्छु, तपाईको पाउ समातेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
