सत्ता : उमानाथ दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,कार्तिक १।
“कस्तो दुर्दिन देख्नु पर्यो आज !” राज्यलक्ष्मीले सोफामा ढल्किएका श्रीमान् को कञ्चटबाट बहेको रगत पुस्तै भनिन् ।
कुलदीप बेलेनन् ।
“कस्तो सपना जस्तो भयो । तेत्रो वर्षौँको आर्जन एकैछिनमा चट् ।” राज्यलक्ष्मी बर्बराउँदै रहिन् ।
बाहिर कुनै अलि ठुलो आवाज सुनियो । कुलदीप तर्छेर जुरुक्क उठे । राज्यलक्ष्मीले ढोका खोलेर हेरिन् र भनिन् –“केही छैन, आराम गर्नुहोस् ।”
कुलदीप अगि झैँ ढल्किए । उनको कान पछाडिबाट एकथोपो रगत तप्प भुइँमा झर्यो ।
राज्यलक्ष्मीले त्यसलाई देखिन् । एकछिन हेरिन र मनमनै सोचिन्– ‘यो रगत देशका लागि हुनुपथ्र्यो खेर गयो ।’
तपाईंलाई साथीहरू सहयोगीहरूले राम्रो सल्लाह दिएनन् ? राज्यलक्ष्मीले पुनः रगत पुस्तै प्रश्न राखिन् ।
कुलदीपले एकछिन अनुहार नियाले र बोले –“दिएका थिए । धेरै सल्लाह आए तर तिमीलाई थाहै छ म अलि आफ्नै ढिपीमा अडिन्छु ।”
“हजुरको यही जिद्दी पनाले आज सर्वनास भयो ।” राज्यलक्ष्मीले चिन्ता व्यक्त गरिन् ।
कुलदीपले लामो श्वास लिएर बोले – “मलाई आफू सत्तामा छु भन्ने भ्रम रहेछ, तर सत्ता त जनतामा रहेछ, जनता उर्लेपछि यो दुर्दशा भयो ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
