नेपाली ड्राइभर/राइडरलाई मद्रासमा मोटरिङको अवसर
नेपाली मोटरसाइकल रेसर तथा कार्टस् ड्राइभरहरूले मद्रासको अन्तर्राष्ट्रिय स्तरको ट्रयाकमा रेसिङ गर्ने अवसर पाउने भएका छन् ।
यही अक्टोबर ८ देखि १० तारिखसम्म थाइल्याण्डको चिङ्गमाइमा भइरहेको एफआईए एशिया प्यासीफिक कङ्ग्रेसका दौरान फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) का बोर्ड सदस्य तथा मद्रास मोटर स्पोर्ट्स क्लब (एमएमएससी) का निर्देशक विक्की चान्धोकले सो घोषणा गरेका हुन् ।
नासा नेपालको प्रस्तावमा क्षेत्रीय सहकार्यको अवधारणामा आधारित रही सो सहकार्यको सार्वजनिक घोषणा गरिएको हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का कार्यकारी निर्देशक गोविन्द भट्टराई तथा मद्रास मोटर स्पोर्ट्स क्लबका सञ्चालक एवं फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डियाका बोर्ड सदस्य चान्धोकबीच यसबारे सहमति भएको हो ।
वार्षिक तीन वटा कार्यक्रम सो ट्रयाकमा आयोजना गरिने छन्, जसमा एउटा मोटरसाइकलको, एउटा कार्ट्सको र अर्को मार्शलको हुनेछ । जसअन्तर्गत प्रत्येक वर्ष १६ जना राइडरहरूलाई मद्रास ट्रयाकमा दुई दिने रेसिङ तथा प्रशिक्षणसहितको प्रतियोगितामा सहभागी गराइनेछ ।
एमएमएससी–नासा नेपाल राष्ट्रिय च्याम्पियनसिपका नाममा हुने सो रेसिङका लागि सम्पूर्ण ग्राउण्ड खर्च (ट्रयाक र मेसिनसहित) एमएमएससीले निःशुल्क उपलब्ध गराउनेछ भने नेपाली राइडरहरूको छनोट, सहभागिता, लाइसेन्सिङ र प्रतियोगिताको आधिकारिक जिम्मेवारी नासा नेपालकै हुनेछ ।
अधिकतम १६ जना राइडर र अफिसियल रहने नेपाली टोलीले प्रतिस्पर्धाका साथै प्रशिक्षण र व्यवस्थापनसम्बन्धी ज्ञान प्राप्त गर्ने अवसर पाउनेछन् । त्यसैगरी १६ जना कार्ट्स ड्राइभरहरूलाई सोही ट्रयाकमा व्यावहारिक तथा प्रतियोगितात्मक अनुभव प्रदान गरिनेछ ।
